भीमदत्तमा यी ९ उम्मेदवारको जमानत जफत, सुदूरमा अन्य कस्ले जोगाउन सकेनन् ?

प्रकाशित:

कञ्चनपुर। सुदूरपश्चिमका ५ स्थानका १३ जना उम्मेदवारको जमानत जफत भएको छ। ५ स्थानीय तहको उपचुनावमा २६ उम्मेदवार थिए।

नेकपा माओवादी केन्द्रका ३ र राष्ट्रिय स्वतन्त्र पार्टी २ उम्मेदवारको जमानत जफत भएको छ। नेकपा माओवादी केन्द्रले बाजुराको स्वामीकार्तिक खापर बाहेक अन्य ४ स्थानमा उम्मेदवारी दिएको थियो। दार्चुलाको दुहुँ गाउँपालिका–५ मा मात्रै माओवादीको जमानत जोगिएको हो।

रास्वपाले दुई स्थानमा उठाएका आफ्ना उम्मेदवारको जमानत जफत भएको छ। डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा अध्यक्षकी उम्मेदवार बनेकी रास्वपाकी जानकी कुमारी खड्का कुँवरले ३१ मत मात्रै ल्याउन सकिन्। खसेको ८३९ मतमध्ये १३ मत बदर भएको थियो।

जमानत फिर्ता पाउन सदर मतको १० प्रतिशत मत कटाउनु पर्छ। यहाँ ८२६ मत सदर थिए। पूर्वीचौकी गाउँपालिका–६ मा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत मात्रै ल्याएर जमानत बचाउन सकेनन्।

बझाङको सुर्मा गाउँपालिका–४ मा नेकपा माओवादी केन्द्र उम्मेदवार पुष्करबहादुर बोहराको जमानत जफत भएको छ। बोहराले १७ मत मात्रै ल्याए। खसेको ११७८ मत ११६१ मत सदर थिए।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरको जमानत जफत भएको छ। ८५७ सदर मतमा उनले २५ मत मात्रै ल्याए।

सबैभन्दा बढी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा ९ ना उम्मेदवारको जमानत जफत भएको छ। यहाँ १२ जना उम्मेदवार थिए। खसेको २९९१ मतमध्ये सदर मत २९३७ थियो। निर्वाचन कार्यालयका अनुसार ५४ मत बदर थिए।

नेकपा एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, स्वतन्त्र थानेश्वर लेखक, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौरा, नेकपा माओवादी केन्द्रका नानाराम कोली, स्वतन्त्र युवराज चन्द, राप्रपा नेपालका दिलबहादुर धामी, नेमकिपाका दलबहादुर बोहरा र जनमत पार्टीका यादवबहादुर चन्दले जमानत जोगाउन सकेनन्।

ताजा समाचार

सम्बन्धित समाचार