कञ्चनपुर। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको मत गणनाका लागि सर्वदलिय बैठक बोलाइएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले राति ८ बजे सर्वदलीय बैठक बस्दैछ। मत गणनाको विषयमा निर्णय गरेलगत्तै आजै गणना गर्ने तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ।
स्वामीकार्तिक खापरका ५ वटै मतदानस्थलका मतपेटिका गणनास्थलमा ल्याइएको छ। सुरक्षाकर्मीले गाउँपालिकाको कार्यालय रहेको सिउजिउलामा मतपेटिका पु¥याएर मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले बुझिसकेका छन्।
मतगणनास्थल तारजालीले घेरिएको छ। यस्तै, मतगणनास्थलमा सीसीटीभी पनि जडान गरिएको छ।
सुरक्षाका दृष्टिले संवेदनशील मानिएको स्वामीकार्तिक खापरमा कैलालीको धनगढीबाट एसपी सरोज पौडेलको नेतृत्वमा सुरक्षाकर्मी तैनाथ छन्।
बाजुराका डिएएसपी दिलिप कुमार गिरी त्यही केन्द्रीत भएका छन्। कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा गर्न ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन्।
मतगणनास्थलको पहिलो घेरामा जनपद, त्यसपछि सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना समेत परिचालित छ।
स्वामीकार्तिक खापरमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मदेवार चुनावी मैदानमा छन्। यहाँ ३ हजार ९ सय ३ मत खसेको छ।