काठमाडौं । भारतका लागि यू-१९ विश्वकप जिताएका उन्मुक्त चन्द लुम्बिनी लायन्सले अनुबन्ध गरेको अर्को विदेशी नाम हो । सिनियर टोलीबाट मौका पाउन नसकेका उनी हाल अमेरिकामा स्थायी रूपमा बसाइसराई गरेर बसिरहेका छन् ।
उनको करियरको सबैभन्दा ठुलो उपलब्धि भारतीय यू-१९ टोलीको कप्तानी गर्दै यू-१९ विश्वकप जिताएको नै मान्न सकिन्छ । उनले भारतका लागि सन् २०१२ को यू-१९ विश्वकप जिताएका थिए ।
फाइनलमा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई हराउँदै भारतले विश्वकपको जितेको थियो । फाइनलमा उनले अविजित शतकीय पारी खेल्दै टोलीलाई जिताएका थिए ।
अस्ट्रेलियाले दिएको २२६ रनको लक्ष्य पछ्याउने क्रममा सुरुवाती अवस्थामा नै विकेट गुमाएर ९७-४ को स्थितिमा पुगेको भएपनि ओपनर चन्दले कप्तानी पारी खेल्दै टिमलाई विश्वकप जिताएका थिए । उनी १११ रनमा अविजित रहे । उनलाई स्मित पटेलले ६२ रन बनाएर साथ दिएका थिए । स्मित पनि हाल अमेरिकामा नै छन् ।
आइपीएलमा दिल्लीको टोलीमा रहेका उनी भारतलाई विश्वकप जिताएपछि थप चर्चामा आएका थिए । यद्यपी उनले राष्ट्रिय टोलीमा भने स्थान बनाउन सकेनन् । लामो समयको प्रयासपछि पनि सिनियर टिममा नपरेपछि उनी सन् २०२१ मा भारतबाट सन्यास लिएर अमेरिका लागेका थिए ।
सन् १९९३ मा भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा जन्मिएका चन्दले स्कुल पढ्दादेखि नै क्रिकेट खेल्न थालेका थिए । उनले सुरूमा दिल्लीको यू-१९ टोलीबाट खेल्दै १ शतक र दुई अर्धशतकसहित ४९९ रन बनाएका थिए । उनको त्यही प्रदर्शनले उनलाई दिल्लीको सिनियर टिममा स्थान दिलायो ।
त्यसपछि उनले दिल्लीको सिनियर टिमबाट रणजी ट्रफी खेल्न थाले जहाँ पनि उनले राम्रो खेल प्रदर्शन गर्दै ५ खेलमा ४०० रन बनाएका थिए । त्यसपछि उनी दिल्ली यू-१९ को कप्तान हुँदै भारतीय यू-१९ क्रिकेट टोलीकै कप्तान चुनिए । उनले आफ्नो कप्तानीमा २०१२ को यू-१९ विश्वकपसँगै त्यसै वर्ष भएको अस्ट्रेलिया र इंगल्यान्डसँगको त्रिदेशीय श्रृंखला पनि जिताए ।
त्यसैगरी २०१२ मै भएको एसीसी यू-१९ एसिया कपमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनल र फाइनल दुवै खेलमा शतकीय पारी खेलेका उनी दुवै खेलको म्यान अफ दि म्याच चुनिएका थिए । फाइनलमा भारत र पाकिस्तानबीचको खेल टाइ भएको थियो ।
उनले प्रतियोगितामा ५ खेलमा ३७० रन बनाउँदै सर्वाधिक रन बनाउनेको सुचीमा दोस्रो भएका थिए । २०१३ को विजय हजारे ट्रफीको फाइनलमा चन्दले दिल्लीका लागि शतकीय पारी खेलेका थिए ।
उनले सन् २०११ मा दिल्ली डेयरडेभिल्समार्फत आइपीएलमा डेब्यू गरेका थिए । तर उनले त्यस सिजनमा दुई खेल मात्र खेलेका थिए । उनी चर्चामा भने २०१३ को आइपीएलका क्रममा आएका थिए जतिबेला उनी प्रतियोगिताको पहिलो खेलको पहिलो बलमै कोलकाता नाइट राइडर्सका बलर ब्रेट लीको बलमा बोल्डआउट भएका थिए ।
त्यसपछि राजस्थानमा अनुबन्ध भएका उनी सन् २०१५ को आइपीएलका लागि मुम्बई इन्डियन्सको टोलीमा थिए । त्यस सिजन मुम्बईले आइपिएल पनि जितेको थियो तर उनले ५ खेल मात्र खेलेका थिए जहाँ एक अर्धशतकसहित १०२ रन बनाए ।
उनले सन् २०१२/१३ को सैयद मुस्ताक अली ट्रफीमा दिल्लीबाट खेल्दै ३५ को औसतमा ३२१ रन बनाएका थिए । उनले १४० आसपासको स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । केरला र गुजरातसँगको खेलमा उनले लगातार दुई शतक प्रहार गरेको भएपनि सेमिफाइनलमा उडिसासँग भने उनको ब्याटिङ चलेन र दिल्ली पनि पराजित भएको थियो ।
उनले सन् २०२१ मा भारतीय क्रिकेटबाट सन्यासको घोषणा गर्दै अमेरिका लागेका थिए । भारतीय क्रिकेटको सिनियर टोलीमा मौका नपाएपछि उनी अझै राम्रो अवसरको खोजीमा अमेरिका गएका थिए ।
अमेरिकामा सबै प्रक्रिया पूरा गरेर सिनियर टिमबाट खेल्न योग्य भएका उन्मुक्तले अमेरिकी क्रिकेट टोलीबाट मौका पाउने धेरैको अनुमान थियो । तर उनी आइसीसी टी२० विश्वकप २०२४ का लागि टोलीमा परेनन् । उनीसँगैका मिलिन्द कुमार र हर्मित सिंह अन्तिम टोलीमा परेपनि उन्मुक्त चाहिँ छुटे ।
उनले अमेरिकाको माइनर लिग क्रिकेटमा सन् २०२१ मा डेब्यू गर्दै सिलिकन भ्याली स्ट्राइकर्सबाट खेलेका थिए । उक्त सिजन उनी प्रतियोगिताकै सबैभन्दा धेरै रन बनाउँदै टिमलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले १६ खेलमा ६०० भन्दा धेरै रन बनाएका थिए ।
त्यसैगरी उनले २०२२ मा अस्ट्रेलियन बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सबाट खेले । उनी बीबीएलमा खेल्ने पहिलो भारतीय खेलाडी समेत हुन् । त्यसैगरी अमेरिकी मेजर लिग क्रिकेटको पहिलो सिजनका लागि उनी लस एन्जल्स नाइट राइडर्सको टोलीमा अनुबन्ध भएका थिए ।
त्यसै वर्ष नोभेम्बरमा उनी चट्टोग्राम च्यालेन्जर्सबाट बङ्गलादेश प्रिमियर लिग खेल्नका लागि अनुबन्धित भए । उनी त्यस प्रतियोगिता खेल्ने पहिलो भारतीय हुन् ।
खेलबाहेक उनले क्रिकेटमा कमेन्ट्री पनि गरेका छन् । उनले सन् २०२० तथा सन् २०२२ को यू-१९ क्रिकेट विश्वकपमा कमेन्ट्री गरेका छन् । त्यसैगरी क्यारेबियन प्रिमियर लिग र बीबीएलमा पनि कमेन्ट्री गरेका छन् ।
यसरी भारतलाई यू-१९ विश्वकपको उपाधि दिलाउनेदेखि अवसरको खोजीमा अमेरिका पुगेका उन्मुक्त अब नेपालको मैदानमा पनि देखिनेछन् । उनलाई एनपीएल टिम लुम्बिनी लायन्सले अनुबन्ध गरेको छ ।
चन्दले फर्स्ट क्लास क्रिकेटमा ६७ खेल खेल्दा ३३०० भन्दा धेरै रन बनाएका छन् भने लिस्ट ए मा १२० खेल खेल्दा ४५०० भन्दा धेरै रन बनाएका छन् । सबैखाले टी२० मा गरेर ९० खेल खेल्दा १७९५ रन बनाएका छन् ।
उन्मुक्तको आगमनले लुम्बिनीलाई ओपनिङ ब्याटर र विकेटकिपरको विकल्प दिने छ । लुम्बिनीमा अनुबन्ध भएपछि उत्साहित हुँदै उन्मुक्त चन्दले भने, ‘नेपाल प्रिमियर लिगको यस पहिलो सिजनमा लुम्बिनी लायन्सको खेलाडीको रुपमा म मैदानमा उत्रिन आतुर छु । विश्वका विभिन्न क्षेत्रहरूमा क्रिकेट खेलप्रतिको माया बढेको देख्न पाउँदा म निकै खुसी छु । मैले अहिलेसम्म प्राप्त गरेको क्रिकेट खेलको अनुभवलाई आत्मसात् गरी म मेरो टिमलाई भरपुर योगदान दिन चाहन्छु ।’
भारतलाई उपाधि दिलाउनेदेखि अमेरिकासम्म पुगेर क्रिकेटमा करियर बनाउन लागिपरेका उन्मुक्तले नेपालका कप्तान रोहितसँग अनुभव बाँड्दै कस्तो प्रदर्शन गर्लान् त रु हेर्नका लागि अब धेरै दिन कुर्नुपर्दैन।