काठमाडौं । कालिमाटीमा मध्यराति एक महिलाको शव बोकर फालेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बझाङ घर भएका २२ वर्षीय कविन्द्र मल्ल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
घटना ७ मंसिरको हो । कालिमाटीस्थित संगितमार्गमा एक महिलाको शव भेटियो । नामथर वतन नखुलेकी महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा सीसीटीभी फुटेजमा ती युवकले महिलालाई बोकेर त्यहाँ फालेको देखियो ।
‘युवकले बोकेर फालेको देखिन्छ । अन्तै मारेर त्यहाँ ल्याएर फालेको हो वा अन्य केही हो खुल्न बाँकी नै छ,’ एक अनुसन्धान अधिकृतले भने ।
सीसीटीभी फुटेजमा देखिएको चप्पल, ट्राउजर र ज्याकेटको हुलिया केन्द्रित भएर अनुसन्धान गरेको प्रहरीले आइतबार मल्ललाई पक्राउ गरेको थियो । पक्राउ परेका मल्लले उक्त फुटेजमा देखिएको व्यक्ति आफू नै भएको प्रहरीसमक्ष बताएका छन् ।
प्रहरी समक्ष उनले भनेका छन्, ‘म लागु औषध सेवनकर्ता हो । मैले बोकेर फालेको हुँ । के कसो भयो यहाँ भन्दा बढी मलाई थाहा छैन ।’
अनुसन्धानका क्रममा मृतक महिला उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेती रहेको खुल्यो । उनी विवाहित भए पनि आफूखुसी बसोबास गर्दै हिँड्ने गरेको खुलेको छ ।
यता शव बोकेर फालेको अवस्थामा पक्राउ परेका युवक भने ६ मंसिरमा मात्रै प्रहरी हिरासत कालिमाटीबाट छुटेको खुलेको छ । चोरी आरोपमा पक्राउ परेर छुटेकै राति उनले ती महिलाको शव बोकेर फालेको देखिएको छ ।
सीसीटीभी फुटेजमा देखिएको दृश्य अनुसार ३ बजे राति ७ मंसिरमा उक्त घटना भएको हो । मृत भेटिएकी महिलाको ट्राउजर समेत खुल्लै रहेकाले बलात्कारपछि हत्या भएको हो कि भन्ने आशंका पनि प्रहरीले गरेको छ ।
तर, ती महिलाको शरीरमा कुनै घाउचोट समेत नदेखिएकाले उनको मृत्यु समेत शंकास्पद देखिएको छ ।
पक्राउ परेका मल्लविरुद्ध ज्यानसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट आइतबार ५ दिनको म्याद थप भएको छ । उक्त घटनाबारे अहिले प्रहरी वृत्त कालिमाटीले अनुसन्धान अघि बढाएको छ ।