शुक्लाफाँटामा खेलकुद विकास समितिको अध्यक्ष बने साउँद

प्रकाशित:

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले खेलकुद विकास समिति गठन गरिएको छ। नगरपालिकाको १६९ औं कार्यपालिका बैठकले चक्रबहादुर साउँदको अध्यक्षतामा खेलकुद समिति गठन गर्ने निर्णय गरेको हो।

उनको अध्यक्षतामा ४ सदस्यीय खेलकुद समिति गठन गरेको नगर प्रवक्ता लालबहादुर ऐरले बताए। उनका अनुसार खेलकुद समितिको सदस्यमा विवेक रावल, कमल महरा र सरला विष्ट रहेका छन्। सुदूरपश्चिम प्रदेश खेलकुद नियमावली, २०७७ अन्तर्गत नगर खेलकुद विकास समिति गठन भएको हो।

जसले स्थानीय खेलकुद गतिविधिलाई व्यवस्थित गर्न र खेलकुदको विकासलाई प्राथमिकतामा राख्ने जिम्मेवारी पाएको छ। खेलकुद नियमावलीमा स्थानीय तहमा खेलकुद समिति गठन गरि खेलकुदको विकास, प्रतियोगिता आयोजना, र खेलाडी प्रोत्साहनका लागि ठोस योजना बनाउनुपर्ने प्रावधान उल्लेख छ।

यस नियमावलीअनुसार, समितिले खेलकुद विकासका लागि नीति, कार्यक्रम र बजेट व्यवस्थापन गर्ने, जिल्लास्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट र सिफारिस गर्ने, तथा स्थानीय स्तरमा खेलकुद पूर्वाधार निर्माणमा सहयोग गर्नेछ।

समितिले प्रदेश सरकारको निर्देशिका र कानुनको अधीनमा रहेर नगरस्तरीय प्रतियोगिता आयोजना गर्ने, प्रतिभाशाली खेलाडीको पहिचान गरी उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सिफारिस गर्ने काम गर्नेछ।

ताजा समाचार

सम्बन्धित समाचार