काठमाडौं। निर्मला पन्त हत्या प्रकरणमा विभिन्न अनुसन्धान गर्न एक महिनादेखि प्रहरीले नयाँ प्रक्रियाबाट अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्न एक महिनाअगाडिबाट नयाँ प्रक्रियाबाट अनुसन्धान अघि बढाएको हो ।
यसअघि भएका सबै अनुसन्धान प्रतिवेदनको अध्ययन गर्न प्रहरी प्रधान कार्यालयले नयाँ समिति बनाएको छ ।
यो समितिलाई विगतमा गठन भएका सबै समितिका प्रतिवेदन अध्ययन गरेर निचोडहरुलाई एकीकृत गर्ने जिम्मेवारी दिइएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दुई महिनाअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख आईजी दीपक थापाको नेतृत्वमा यो समिति बनाएका हुन् ।
सीआईबी प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले नयाँ प्रक्रियाबाट अनुसन्धान अघि बढाइएको पुष्टि गरेका छन् ।
बोगटीका अनुसार नयाँ शिराबाट छानबिन र अनुसन्धान अघि बढेको छ। अनुसन्धान टोलीमा एआईजी थापासहित, प्रवक्ता बोगटी र एसएसपी भूपेन्द्र खत्री छन् ।
बोगटीले भने, ‘हामीले थप अनुसन्धान गरिरहेका छौँ । निचोड निस्किने गरी लागेका छौँ । अहिले सूरु देखिका प्रतिवेदन अध्याय गरिरहेका छौँ ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका(२ उल्टाखामकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष बितिसकेको छ।
२०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारस्थित उखुबारीमा फेला परेको थियो ।
घटनापछि दोषीलाई कारबाही माग गर्दै लामो समय आन्दोलन भयो । त्यही आन्दोलनका कारण पनि प्रहरीको अनुसन्धान प्रभावित भयो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक सयभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । तर कुनै निचोड निस्किन सकेन ।
सरकारले घटनामा संलग्नको अझै पनि पहिचान गर्न सकेको छैन । निर्मलाको परिवारले अपराधी पत्ता लाग्ने आश मारिसकेको अवस्थामा फेरि अनुसन्धान सुरु भएको हो ।
निर्मलाको बलात्कारपछि हत्या प्रकरण सडकदेखि सदनसम्म पुगेको थियो । दोषीलाई कारबाही माग राख्दै भएको आन्दोलनमा सन्नी खुनाले ज्यान गुमाए । अहिलेसम्म घटनामा संलग्नको पहिचान नहुँदा पीडित परिवार तनावमा छन् ।