कञ्चनपुर। स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदै छ। यसअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा पनि वडाध्यक्षका लागि प्रतिस्पर्धा हुँदै छ। जुन रोचक देखिएको छ।
किनकि यहाँ एकै परिवारका दुई सदस्य छुट्टाछुट्टै राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिएका छन्। सत्तारुढ नेकपा एमालेले वडाध्यक्षमा बहादुर चन्दलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले उनकै भतिजा प्रकाश चन्दलाई।
कांग्रेस उम्मेदवार प्रकाश एमाले उम्मेदवार बहादुरका जेठा दाइका छोरा हुन्।
बहादुरको पृष्ठभूमि
६१ वर्षीय बहादुर विद्यार्थी राजनीति हुँदै एमालेको मूल राजनीतिसँग जोडिए। ०४२ सालतिर उनले एमालेको सदस्यता लिए। शिक्षण पेसामा भएकाले नाम परिवर्तन गरेर उनी एमालेमा सक्रिय रहे।
वि.सं. २०३६ मा महेन्द्रनगर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका बहादुरले त्यसै बेलादेखि पढाउन थालेका हुन्। सुरुवातमा स्वयम्वकका रूपमा शिक्षण थालेका उनले २०३८ सालमा शिक्षकको अस्थायी नियुक्ति पाए।
यसपछि उनले २०४१ मा प्राथमिक तह स्थायी नियुक्ति र ०४५ सालमा निमावि स्थायी नियुक्ति पाए। यस क्रममा बहादुर २०५१ सालमा भीमदत्त नगरपालिका-५ वनगाउँस्थित सत्यवादी माध्यमिक विद्यालयको प्रधानाध्यापक बने।
२०५१ अघि उनी भीमदत्त नगरपालिका-६ को शान्ति निकेतन माध्यमिक विद्यालयमा पढाउँथे। सत्यवादी माध्यमिक विद्यालयबाट २०५३ सालमा फेरि उनी शान्ति निकेतनको प्रधानाध्यापक बने।
२०८१ साउन १५ मा उनी सेवानिवृत्त भए। शिक्षणमा दशक खर्चेका उनै बहादुर अहिले वडाध्यक्ष पदमा चुनाव लड्दै छन्।
‘मैले पढाएकै विद्यार्थी अहिले मतदाता छन्। मत माग्न घरदैलोमा जाँदा राम्रो प्रतिक्रिया पाइएको छ,’ उनले भने।
उनले आफ्नो मुख्य प्रतिस्पर्धी कांग्रेस उम्मेदवार आफ्ना भतिजा प्रकाशलाई नै ठानेका छन्।
‘परिवारिक रूपमा काका-भतिजााको सम्बन्ध रहिरहन्छ, चुनावी मैदानमा त्यो हुँदैन। म जित्नेमा ढुक्क छु,’ उनले भने, ‘म उसको अभिभावक पनि हो। हामीले पहिल्यै उम्मेदवार टुंग्याएपछि कांग्रेसले भतिजालाई उठाएर जबर्जस्ती भिडायो।’
बहादुर नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको दुई कार्यकाल उपाध्यक्ष पनि रहे। उपाध्यक्ष हुँदै उनी केन्द्रीय प्रतिनिधि र राष्ट्रिय परिषद् सदस्यसमेत बने। शिक्षणसँगै उनी खेलकुदमा पनि सक्रिय थिए। कबड्डी र हेन्डबलको कैयौँ राष्ट्रिय प्रतियोगिता उनले खेले।
बैतडीको पाटन नगरपालिका-५ मा जन्मिएका उनी तत्कालीन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका पहिलो भलिबल राष्ट्रिय रेफ्री थिए।
लामो समय भीमदत्त नगरपालिका-६ को शान्ति निकेतन माध्यमिक विद्यालयमा अध्यापन गरेका बहादुरको नेतृत्वले विद्यालयको शैक्षिक गुणस्तर उकास्न भूमिका खेल्यो।
२०६५ सालमा शान्ति निकेतन विद्यालयले नेपाल शिक्षा सेवा पदक नै पाएको थियो।
प्रकाशको पृष्ठभूमि
प्रकाश नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको मूल राजनीतिमा प्रवेश गरे। उनी अहिले नेपाली कांग्रेस भीमदत्त नगरपालिका-६ का वडा सभापति छन्।
२०५९ सालमा उनी नेपाल विद्यार्थी संघको सिद्धनाथ बहुमुखी क्याम्पस एकाइ सभापति बने। त्यसपछि नेविसंघको जिल्ला सदस्य, सचिव हुँदै कांग्रेसको भीमदत्त नगर कार्यसमितिमा उनी प्रवेश गरे।
कांग्रेसको नगर कार्यसमिति सदस्य, वडा कार्यसमिति सचिव हुँदै प्रकाश अहिले वडा सभापति छन्। २०६४ सालमा सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा प्रतिस्पर्धा गरेका उनी पराजित भए।
प्रकाशले कक्षा ८ सम्मको अध्ययन शान्ति निकेतन माध्यमिक विद्यालयबाट गरे। जहाँ उनका काका बहादुर शिक्षक थिए। त्यसपछि बैजनाथ उच्च माध्यमिक विद्यालयबाट २०५८ सालमा उनले एसएलसी उत्तीर्ण गरेका थिए। उनले कुमाउ विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका छन्।
‘राजनीतिक विचार अलग-अलग छ। म दशकदेखि कांग्रेसमा आबद्ध भएर सक्रिय छु,’ प्रकाशले भने, ‘अलग-अलग पार्टीमा आबद्ध भएपछि प्रतिस्पर्धा स्वाभाविक र सामान्य हो। व्यक्तिगत सम्बन्धमा केही असर गर्दैन।’
यस्तो छ अंकगणित
०७९ को स्थानीय तह चुनावमा भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेस प्यानल नै विजयी भएको थियो। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको ०८० पुस २६ मा निधन भएपछि यहाँ वडाध्यक्ष पद रिक्त छ।
२०७९ को चुनावमा कांग्रेसले वडाध्यक्षमा १ हजार १ सय २ मत ल्याएको थियो। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जनकराज अवस्थीले ६ सय ९८ मत ल्याएका थिए। राप्रपाका सुशीलकुमार भट्टले ४ सय ८७ र नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्द २ सय ३२ मत पाएका थिए।