मलद्वार नभएका नाबालकको सबै उपचार खर्च उपमहानगरले व्‍यहोर्ने

प्रकाशित:

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५, भोर्लेका मनिष थिङ र एञ्जिला स्याङ्तानको १८ महिने छोराको मलद्वार नै छैन् । नाबालक आरोन थिङको असह्य पीडाले मनिष र एञ्जिलाको आँखामा आँसु नरोकिएको महिनौं भइसक्यो ।

छोराको उपचार खर्च जुटाउन भौतारिँदै मनिष र एञ्जिलाले गाउँघर छिमेकमा सहयोगको याचना गरेको लामो समय बितिसक्दा पनि पर्याप्त रकमको जोहो गर्न नसकेकाले अस्पताल जानबाट रोकिएका छन् ।

छरछिमेकले गरेको सहयोगले मात्रै उपचार सम्भव नभएपछि मनिष र एञ्जिला वडा कार्यालयदेखि उपमहानगरपालिकाको ढोकढक्याउन पुगे ।

खर्चको अभावका कारण परिवारले नाबालकको उपचार गर्न नसकेकोले उपचारको जिम्मा नै उपमहानगरले लिएको हेटौंडाकी नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।

बाबु मनिष विगतमा बसको सहचालकको भूमिका निर्वाह गरेर छाक टार्दै आएका थिए। सहचालकको जागिर छोडेर उनी छोराको उपचार र खर्च जुटाउन भौतिररहेका छन् ।

बल्ल उनीहरुले उपचारमा स्थानीय सरकारको सहयोग पाउने पक्का भएको छ । हेटौंडा उपमहानगरपालिकाले मलद्वार नै नभएका नाबालकको उपचारमा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । १८ महिनाका आरोनको सबै उपचार खर्च व्यहोर्ने निर्णय हेटौंडा उपमहानगरको कार्यपालिकाबाट भएको हो ।

हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले ल्याएको बालकको उपचारका लागि सहयोग प्रस्ताव सोमबार बसेको कार्यपालिका बैठकले स्वीकृत गरेको हो । चिकित्सकको सल्लाह अनुसार उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने मेयर लामाको भनाइ छ ।

‘अहिले ३ लाख ५० हजार खर्च लाग्छ भनिएको छ । त्यो खर्च उपमहानगरले व्यहोर्नेछ ।’ उनले भनिन् । मलद्वार नभएकाले आरोनलाई असह्य पीडा रहेको उनको परिवारले बताएको छ । नाबालक भएकाले आरोनले आफ्नो पीडा आमाबाबुलाई व्यक्त गर्न सक्दैनन् ।

हरेक पटक दिशा गर्दा उनको आँखाबाट आँसु झर्छ । तर, बाबु मनिष र आमा एञ्जिला केवल टुलुटुलु हेर्न बाध्य छन् । २०८० जेठ २ गते मनिष र एञ्जिलाले आरोनलाई पहिलो सन्तानको रुपमा जन्म दिएका थिए ।

तर, जन्मेको केही घण्टामै बालक आरोनले बान्ता गर्न थालेको उनका बुवा मनिषले बताए । त्यसपछि उनलाई हेटौंडा अस्पताल लगियो । चिकित्सकले छोराको मलद्वार छैन भनेपछि संसार नै अँध्यारो महशुस भएको उनी सुनाउँछन ।

मनिषले नाबालक छोराको साढे तीन लाख जुटाएर प्रारम्भिक उपचार गराइसकेको बताए । अब काठमाडौंस्थित अन्तराष्ट्रिय बालमैत्री अस्पताल लैजानुपर्ने भएपछि उनी उपचार खर्चको अभावले अत्तालिएका हुन् ।

बिहान–बेलुकाको छाक टार्न मुस्किल परिवारलाई छोराको उपचार खर्चको पीर परिरहेका बेला उपमहानगरले सबै उपचार खर्च व्यहोर्ने भएपछि मनिष–एञ्जिला दम्पति खुशी देखिए ।

अन्तराष्ट्रिय बालमैत्री अस्पताल काठमाडौंमा प्रारम्भिक उपचारका क्रममा नाबालकको पेटबाट दिशा गर्ने व्यवस्था मिलाइएको बाबु मनिषले बताए । अस्पतालले ६ महिनापछि बोलाएको तर उपचारका लागि पर्याप्त रकम जोहो गर्न नसकेको उनले सुनाए ।

‘अब थप ५–६ लाख कहाँबाट ल्याउने । हरेक रात छोरा रोएको सुन्दा निन्द्रा लाग्दैन,’ मनिष भन्छन, ‘मेरो गरिबीले उसलाई पीडा दिइरहेको छ ।’ एञ्जिलाले बिहान–बेलुका छाक टार्न धौधौ अवस्था रहेकाले छोराको उपचार गर्न समस्या भइरहेको सुनाइन् ।

‘बच्चाको पीडा, दुःख र बाबुआमाको सबै पीडा सुनेका छौं । मेरो नगरबासीलाई हरसम्भव खुशी ल्याउने मेरो जिम्मेवारी हो । अब उनीहरुको आवश्यकता उपमहानगरले पूरा गरी सामाजिक दायित्व निर्वाह गर्छ,’ नगर प्रमुख लामाले भनिन्, ‘सबैलाई सहयोग गर्न पनि मेरो अनुरोध छ ।’ अनलाइन खबरबाट

ताजा समाचार

सम्बन्धित समाचार