धनगढी। डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि विद्यार्थीलाई बिना ब्याज ५ लाख रुपैयाँ शैक्षिक ऋण दिँदैछ।
नगरपालिकाले एसईई वा सो तह भन्दा माथिको प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि मात्र उक्त कर्जा दिने छ।
एचए, ओभरसियर, स्टाफ नर्सिङ, इन्जिनियरिङ, पाइलोटिङ, एमबिबिएस, कृषि, पशु सूचना प्रविधि लगायत अन्य विभिन्न क्षेत्रसंग सम्बन्धित प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि शैक्षिक ऋण कार्यक्रम सञ्चालनमा ल्याएको हो।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा यस कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो।
यस्तै प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०८१ जारी राजपत्रमा प्रकाशित गरेको थियो। सो निर्देशिका बमोजिम शैक्षिक कर्जा वितरण कार्यक्रम हाल सञ्चालनमा ल्याइएको परशुराम नगरपालिकाले जनाएको हो।
ऋण लिन चाहाने इच्छुक विद्यार्थीहरू नगरभित्र स्थायीरूपमा बसोबास भएका हुनुपर्ने छ। शैक्षिक ऋणका लागि इच्छुक विद्यार्थीलाई आवेदन भर्न नगरपालिकाले एक महिनाको समय दिएको छ।
यही कात्तिक २० देखि मंसिर २० गतेसम्म कर्जाका लागि विद्यार्थीले आवेदन दिन पाइने नगरपालिकाले सूचना जारी गरेको हो।
आवेदन दिँदा विद्यार्थीले नागरिकताको प्रमाणपत्र प्रतिलिपि, ऋण लिन चाहेको तहभन्दा एक तहमुनिको ट्रान्सक्रिप्ट, परिवारका दुई जना सदस्यहरूको मन्जुरीनामा पत्र, सम्बन्धित वडाको शैक्षिक ऋणका लागि गरिएको सिफारिस, विद्यार्थी भएको प्रमाणित हुने र अध्ययनरत तह वा कोर्सको जम्मा शैक्षिक शुल्क खुल्ने सम्बन्धित शैक्षिक संस्थाको पत्र लगायतका कागजात, प्रमाण आवश्यक पर्ने जनाइएको छ।
कर्जा लिनका लागि विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा नेपाल सरकारबाट मान्यता प्राप्त हुनुपर्ने छ। विपन्न, लोपन्मुख, पढाइमा जेहनदार र उत्कृष्ट नतिजाको आधारमा नगरपालिकाको कार्यपालिकाको बैठकले शैक्षिक कर्जा स्विकृत गर्नेछ।
नगरपालिकाले बिना ब्याज शैक्षिक प्रमाणपत्र धितो राखेर अध्ययनका लागि ऋण दिने व्यवस्था गरेपछि आर्थिक अभावमा प्राविधि शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई राहत हुने अपेक्षा गरिएको छ।
परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीका अनुसार नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेपछि प्राविधिक शिक्षा अध्ययन गर्न पाँच लाखसम्म कर्जा उपलब्ध गराइने तयारी नगरपालिका थालेको हो।
स्वदेशमै प्राविधिक शिक्षा अध्ययनमा सुविधा दिन नगरपालिकाको १४ औं नगरसभाबाट ऐन समेत पारित भएको जनाइएको छ। पैसा नभएर प्राविधिक तथा व्यवसायिक शिक्षा पढ्न नपाएका विद्यार्थीका लागि आवश्यकता ठानेर नगरपालिकाले यो नमूना कामको सुरूवात गरेको मेयर जोशीले बताए।
यस कार्यक्रमबाट लोपन्मुख, विपन्न वर्ग र महिलाको प्राविधिक तथा व्यवसायिक शिक्षामा पहुँच बढाउन सहुलियत प्रदान गर्ने अपेक्षा राखिएको मेयर जोशीको भनाई छ।
यो प्रकारको ऋण एक परिवारको एक जनाले मात्रै पाउने व्यवस्था उल्लेख गरिएको छ। यसरी प्राप्त हुने कर्जा विद्यार्थीले एकमुष्ट वा किस्तामा पाउने छन्। ऋण दुरूपयोग गरेको खण्डमा वा अन्य कार्यमा प्रयोग गरेमा मापदण्ड अनुसार कारबाही समेत गरिने छ।
उपलब्ध हुने कर्जा रकम व्यक्तिको खातामा नभई जुन ठाउँमा विद्यार्थी अध्ययन गरिरहेको छ। त्यही शैक्षिक संस्थाको खातामा नगरपालिकाबाट रकम जम्मा गरिने छ।
उक्त कर्जा रकम शैक्षिक कोर्सको अन्तिम परिक्षा दिएको एक वर्षभित्र २५ प्रतिशत र दुई वर्षभित्र पचास प्रतिशत, तीन वर्षभित्र ७५ प्रतिशत र चार वर्ष भित्र सबै कर्जा कम नगरपालिकालाई फिर्ता दिनुपर्ने छ।
‘प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि हामीले यो कार्यक्रम सञ्चालनमा ल्याएका छौं, आसा छ। पढाइमा आफ्नो भविष्य खोज्ने विद्यार्थीहरूले यसबाट राहत लिनेछन्। विद्यार्थीलाई समयमै आवेदन पेश गर्न अनुरोध गर्छु,’ मेयर जोशीले भने।
मेयर जोशीका अनुसार आवेदन दिएका मध्ये आवश्यक कागजात पुरा भएका उत्कृष्ट नतिजा, गरिब, जेहनदार, लोपन्मुख विद्यार्थीलाई छनोटमा प्राथमिकता दिइने छ।
‘यो वर्ष आवेदन दिएका मध्ये कम्तीमा २० जनालाई हामीले शैक्षिक कर्जा दिँदैछौं, पैसा अभावमा पढ्न नपाएका अरू पनि भेटिए अझै थप पनि गरिने छ, पढ्न चाहानेलाई नगरपालिकामा अभिभावक भएर ढाडस दिन आफ्नो भूमिका निर्वाह गर्न लागिरहेको छ, यो कार्यक्रमबाट साँच्चिकै पैसा अभाव भएकालाई राहत पुगोस्,’ जोशीले भने। सेतोपाटी