कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ।सडकको माथिल्लतिर पहिरो खसेर भताभुङ्ग छ।
सडकमा खसेको पहिरो हालै मात्र पन्छ्याएर आवातजावत गर्न मिल्ने भएको छ। गत भदौँ अन्तिम साता अविरल वर्षासँगै खसेको पहिरोले विद्यालयको भवनमा क्षति पुगाएको थियो।
पहिरोले क्षति पुगाएको डेढ महिना पूरा भइसक्दा पनि अहिलेसम्म पहिरोले क्षति पुगाएको भवन मर्मत हुन सकेको छैन।
भवनको विषयमा नगरपालिका, शिक्षा विकास तथा समन्वय समिति, जिल्ला प्रशासनलगायत सरोकारवाला निकायलाई जानकारी गराएको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक दिवाकर जोशीले बताए।
विद्यालयका दुई भवनमध्ये तीनकोठे भवनमा पहिरोले क्षति पुगाएको थियो। उक्त भवनको ठाउँठाउँमा चिरा परेकाले विद्यार्थी बसाउनै नमिल्ने छ। अर्को दुईकोठे भवनको एउटा कोठामा कार्यालय छ।
अर्को कोठामा ‘प्लाइउड’ लगाएर दुई कोठा बनाइएको छ। कक्षा ५ सम्म अध्ययन हुने सरस्वती आधारभूत विद्यालयमा एउटै कोठामा २ कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक जोशीले बताए।
भवन पहिरोले चर्किएपछि विद्यार्थीलाई बसाइमा निकै समस्या भएको उनको भनाइ छ। एउटा कोठालाई विभाजित गरेर दुई बनाउँदा पनि आवाज यताउता हुनाले पढाइमा समस्या हुने गरेको प्रधानाध्यापक जोशीको गुनासो छ।
२ कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर फरकफरक विषय अध्यापन गराउन पनि समस्या हुने गरेको शिक्षकहरुको भनाइ छ। सरस्वती आधारभूत विद्यालयमा ४० विद्यार्थी अध्ययनरत छन्।
२०६३ मा स्थापना भएको सो विद्यालयमा स्थायी दरबन्दीका दुई, बालविकासका एक र निजी स्रोतका एक गरेर चार शिक्षक कार्यरत छन्। निजी स्रोतका शिक्षकलाई गत वर्षको पुसदेखि तलब पनि खुवाउन नसकिएको प्रधानाध्यापक जोशीले बताए।