रवि प्रकरणमा टुइष्ट: स्वर्णलक्ष्मीबाट झिकेका थिए ८० लाख बढी ऋण, भेटियो यस्तो प्रमाण

प्रकाशित:

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनबारे काठमाडौँ प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाइएको छ ।

६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबारे अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । उनले भने, ‘कालीमाटी वृतमा दर्ता भएको थियो, हामीले सो फाइल परिसरमा ल्याएर अनुसन्धान थालेका छौँ ।’

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट रेड नोटिस जारी भएको छ । पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जीबीलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ ।

२७ हजार बचतकर्ता रहेको स्वर्णलक्ष्मीबाट राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले पनि दुईपटक ऋण लिएको तर फिर्ता नगरेको भेटिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जीबी र रविले संयुक्त नाममा ऋण लिएका हुन् । २०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ । ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ ।

त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ । स्वर्णलक्ष्मीबाट गैह्रकानुनी रुपमा रवि र जीबीसहितको नाममा प्रवाह भएको लोनको ३५ थान भौचर प्रहरीले बरामद गरेको छ । स्वर्णलक्ष्मीबारे अनुसन्धान गरेका प्रहरी वृत्त कालीमाटीका एकजना अधिकृत भन्छन्, ‘रवि लामिछानेको नाम समेत भएको ३५ थान भौचर बरामद गरेका छौँ ।’

स्वार्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा जीबी राईका साढु भाइ दीपक लामासहित २४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ महानगरपालिका–३ जोरपाटी बस्दै आएका दीपक लामा पोखरास्थित सूर्यदर्शन र बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा पनि संलग्न देखिएका छन् । पोखरा र रुपन्देहीबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेल पोखरास्थित जिल्ला कारागार कास्कीमा थुनामा छन् । उनलाई झिकाएर बयान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरी स्रोतका अनुसार जीबी राई, कुमार रम्तेल, व्यवस्थापक नवीन अछामी र दीपक लामासहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जीबीभन्दा अगाडि उनका साढु भाइ दीपक स्वर्णलक्ष्मीको अध्यक्ष थिए ।

नयाँ कृषि सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेर थुनामुक्त भएका नवीन अछामी अहिले फरार छन् । स्वर्णलक्ष्मी सहकारीका पीडितहरूले नन्दु तण्डुकारको संयोजकत्वमा संघर्षसमिति बनाएर आन्दोलन गर्दै आएका थिए ।रातोपाटी

ताजा समाचार

सम्बन्धित समाचार