कञ्चनपुर । ६० जना वृद्धवृद्धा र एकल महिलाको साहारा बनेको महेन्द्रनगरको एक वृद्धाश्रम आर्थिक संकटमा परेको छ । भीमदत्त नगरपालिका–५ बनखेत स्थित महिला तथा वृद्धसेवा केन्द्र आर्थिक संकटको मारमा परेको हो ।
१८ वर्षदेखि वृद्धवृद्धा, एकल महिला र असहायहरुको साहारा बनेको वृद्धाश्रम आर्थिक संकट भएपछि सहयोगको याचना गरिरहेको छ । बिहिबार महिला तथा वृद्धसेवा केन्दले पत्रकार सम्मेलन मार्फत ६० जना बेसाहाराहरुको भरणपोषणमै समस्या हुँन थालेको बताएको छ ।
मुठ्ठी दानबाट सञ्चालन गरिएको वृद्धाश्रममा पछिल्लो समय सरकारपक्षबाट सहयोग नभएको संस्थाकी अध्यक्ष शारदा चन्दले गुनासो गरिन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबाट पटक्कै सहयोग नहुँदा हतोत्साहित हुँनुपरेको उनि बताउछिन् ।
आर्थिक संकटकै कारण वृद्धवृद्धाहरुसंग पापको वचन बोल्नु परेको बताउँदै अध्यक्ष चन्द भन्छिन्, ‘मैले भनेकी छु आज खाना कम छ आधा पेट मात्रै खानु’, उनले आँखाबाट आँशु झार्दै भनिन्, ‘बजारबाट मागेर गुजारा चलाउन सकिने अवस्था पनि छैन, दाताहरुले पनि कतिसम्म दिउन, जब कि सरकार सहयोग गरिहरेको छैन् ।’
यथास्थितिमा वृद्धाश्रम चलाउँन नसकिने अवस्था रहेको जनाउँदै अध्यक्ष चन्दले अब सरकारले जिम्मालिनुपर्ने बताएकी छिन् । ‘यस्तै अवस्था रह्यो भने, अब वृद्धाश्रम चलाउँन सकिदैन, हामी सरकारलाई हेण्डओभर गर्छौ, सरकारले जिम्मालिनुपर्छ’, अध्यक्ष चन्दले विक्षिप्त हुँदै भनिन्, ‘हामीले बजारबाट ल्याएको रासनको समेत पैसा तिर्न बाँकी छ, शाहुले दैनिक ताकेता गरेको छ, हामीले अब कसरी चलाउने यो बृद्धआश्रम, स्थानीय देखि केन्द्र सरकारलाई अनुनय गर्दा समेत केही पहल भएन, यस्तै अवस्था रहेँ भोकमरी हुन्छ ।’
जिल्लामा गत असार अन्तिम साता आएको बाढीले बेसाहाराहरुको साहारा बनेको वृद्धाश्रमको आम्दानीको स्रोत रहेका कुखुरा र बाख्रा मरेका छन् । अनुगमन पश्चात राहत समेत नपाएको अध्यक्ष चन्द बताउछिन् ।
विहान खाना खायो भने बेलुकी के खाने भन्ने पीरले सताउने गरेको वृद्धाश्रमकी ७५ वर्षिय लक्ष्मी उपाध्याय बताउछिन् । १५ वर्षदेखि उक्त वृद्धाश्रममा बस्दै आएकी उपाध्याय भन्छिन्, ‘विहान खायो भने बेलुका के खानुपर्ने हाने भन्ने पीर छ,’ गत वर्षहरुमा यस्तो अवस्था नरहेको बताउँदै उनि भन्छिन्, ‘गत वर्षहरुमा यस्तो थिएन, हामीलाई खानको व्यवस्था गरिदिनु पर्यो, नत्र हामी सबै भोकै मर्ने भयौं ।’
.गत आर्थिक वर्ष २०८०/०८१ को आय व्ययमा ३३ लाख ७४ हजार सात सय ६० खर्च भएकोमा ५ लाख ५९ हजार चार सय १८ रुपैँया मात्रै आम्दानी रहेको महिला तथा वृद्धसेवा केन्द बनखेतले जनाएको छ ।
रासन, लत्ताकपडा लगायत अन्य आवश्यक सामग्रीहरु अधिकांश जसो उधारो भएको र शाहुले ताकेता गरिरहेको संस्थाकी अध्यक्ष चन्दले बताइन् ।
संस्थाले हालसम्म ३ हजार तीन सय ३६ जेष्ठ नागरिकको पुर्नस्थापना, १०२ वेवारिसे शव दाहसंस्कार, ३३६ जना जेष्ठ नागरिकलाई कानूनी रुपमा अधिकार र अंश दिलाएको जनाएको छ ।