कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।
गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए ।
वन क्षेत्रमा हात्ती कराएको आवाज सुनेपछि उमेशसहित २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी मोटरसाइकल छाडेर भागेका थिए ।
मोटरसाइलमा सवार रोशन र नवीन सम्पर्कमा आए पनि उमेश सम्पर्कमा नआएपछि खोजतलास गर्दा उनी सामुदायिक वन क्षेत्रमा मृतावस्थामा आज विहान फेला परेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उमेश मृतावस्थामा फेला परेको स्थानमा जङ्गली हात्तीको दिसा रहेको र रुख मडारेको जस्तो देखिएको छ ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । एक साताअघि मात्र जङ्गली हात्तीको आक्रमणमा परी लालाझाडी गाउँपालिका–४ डाँडाजाइका ५९ वर्षीय रामदल रानाको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
- मध्यराति नाचगान हेर्न गएका उमेश अस्ताए, सँगैका २ साथी हात्तीबाट भागेर जोगिए
- कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु