चार वर्ष सँगै क्याम्पस पढेका ४ साथी, जसले शिक्षक सेवामा पनि एकसाथ नाम निकाले

प्रकाशित:

कञ्चनपुर। चार साथी ४ वर्षसम्म सँगै स्नातक पढे। सँगसँगै जागिरको सपना देखे। अनि त्यही सपना पूरा गर्न कठोर संघर्ष र मेहनत गरे। अन्ततस् उनीहरू आफ्नो लक्ष्यमा सफल पनि भए।

सुदूरपश्चिममा सँगै क्याम्पस पढेका ४ दौँतरीले शिक्षक सेवा आयोगमा पनि एकसाथ नाम निकालेका हुन्। कञ्चनपुरका अम्बादत्त पन्त, बैतडीका गोविन्दबहादुर धामी, दार्चुलाका माधवराज पन्त र बैतडीकी विमला कुमारी भट्ट सुदूरपश्चिमबाट माध्यमिक तह विज्ञान विषयको शिक्षकका लागि सिफारिस भए।

उनीहरूलाई अहिले बधाई थाप्न भ्याईनभ्याई छ। कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ साइन्स क्याम्पसबाट २०७५ सालमा उनीहरूले बीएस्सी उत्तीर्ण गरेका थिए।

कलेजमा सँगै पढेका मात्रै होइनन्, शिक्षक सेवामा प्रवेशका लागि उनीहरूले प्रतिस्पर्धा पनि सँगसँगै गरे। कैयौँ प्रतिस्पर्धीलाई उछिन्दै चार ‘क्लास मेट’ सँगै शिक्षक सेवा प्रवेश गर्दा अहिले उनीहरू चर्चामा छन्।

गोविन्द: तेस्रो प्रयासमा सफलता
बैतडीको पुर्चौडी नगरपालिका–८ डणपुरका गोविन्दबहादुर धामीले प्राथमिक तहसम्मको शिक्षा गाउँमै लिए। केदार आधारभूत विद्यालयबाट कक्षा ५ पास गरेका उनले पुर्चौडी–१० महरा गाउँको गलेश्वर माध्यमिक विद्यालयबाट एसएलसी गरे।

०७१ सालमा कञ्चनपुरको झलारीस्थित कृष्ण माध्यमिक विद्यालयबाट ‘प्लस टु’ सकाए। मध्यम वर्गीय परिवारका उनले कक्षा १२ सकिँदादेखि नै शिक्षण गर्न थालिसकेका थिए।

६ वर्षदेखि शिक्षण पेसामा रहेका गोविन्दले गाउँकै गलेश्वर माध्यमिक विद्यालयमा ३ वर्ष पढाए। अहिले उनी डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालयमा पढाउँछन्।

गोविन्द ०७१ सालमा सिद्धनाथ विज्ञान क्याम्पसमा स्नातक तहमा भर्ना भए। र, त्यहीँ भेटिए( अम्बादत्त, माधवराज र विमला। एउटै कक्षामा पढ्ने उनीहरू साथी हुन्।

‘कोठाभाडा जोहो गर्न भए पनि पार्टटाइम शिक्षण गर्नुपर्ने बाध्यता थियो,’ गोविन्द भन्छन्, ‘शिक्षण गरे पनि पढाइ छाडिएन। निरन्तर अभ्यास गरियो, निरन्तरको मेहनतले यो सफलता मिलेको छ।’

गोविन्दले यसअघि दुईपटक शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गरेका थिए। पहिलो प्रयासमा पहिलो पत्रमा मात्रै उत्तीर्ण भए। दोस्रो प्रयासमा दोस्रो पत्रमा सफल भए। तर उनले हार मानेनन्। निरन्तरता दिइरहे। तेस्रो प्रयासमा भने गोविन्द शिक्षक सेवा आयोगमा सफल भए।

विमला: पारिवारिक माहोलले शिक्षक
बैतडी मेलौलीकी विमलाकुमारी भट्ट अन्तर्वार्तामा सामेल हुँदा आफूसहित अन्य तीन साथी सफल हुनेमा विश्वस्त थिइन्। नतिजा सार्वजनिक हुँदा ठ्याक्कै त्यस्तै हुँदा उनमा खुसीको सीमा छैन।

‘हामीले अन्तर्वार्ता दिँदा एकअर्कालाई प्रतिस्पर्धीजस्ता मानेनौँ। उत्साहित गर्न सहयोग गरिनै रह्यौँ। जो भए पनि हामीबीचबाट भए हुन्थ्यो सोचेका थियौँ,’ उनले भनिन्, ‘४ जना साथी सिफारिसमा परेको यो ठूलो खुसी क्षण हो।’

अध्यापन सँगसँगै उनले शिक्षक सेवाको तयारी गरिरहिन्। विभिन्न निजी विद्यालयमा पढाएको अनुभव बटुलेकी उनी हाल कैलालीको गोदावरी नगरपालिका–१२ को दुर्गा माध्यमिक विद्यालयमा पढाइरहेकी छन्।

घरपरिवारको माहोलले शिक्षण पेसातर्फ आकर्षित गरेको विमला बताउँछिन्। ‘दाइहरू शिक्षक थिए। त्यसैले मलाई यसतर्फ झुकाव बढ्यो। प्राइभेट स्कुलहरूमा पढाउँदा पढाउँदै शिक्षकमै स्थायित्वका लागि लागेँ,’ उनले भनिन्।

गत वर्ष दिएको शिक्षक सेवा आयोगको परीक्षामा विमला अन्तर्वार्तामा रोकिएकी थिइन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ समैजी माध्यमिक विद्यालयबाट विमलाले ०६८ मा एसएलसी पास गरेकी थिइन्। त्यसपछि उनले कृष्ण उच्च माध्यमिक विद्यालय गुलरियाबाट ‘प्लस टु’ गरिन्।

अम्बादत्त: ‘बीएस्सी सर’…
एमएससी होस् वा बीएस्सी, विज्ञान पढाउने शिक्षकलाई विद्यालयमा प्रायः ‘बीएस्सी सर’ भनिन्छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका अम्बादत्त पन्तलाई पनि यसको छाप थियो।

पन्तको परिवार कृषिमा आश्रित छ। आर्थिक अवस्था बलियो थिएन। परिवारको जेठो छोरा हुनाले जिम्मेवारी उनकै काँधमा थियो। अध्यापन गर्दै अम्बादत्तले पढाइ खर्च जोहो गरे। उनी कालागौडीकै शिवशक्ति माध्यमिक विद्यालयमा ६ वर्षदेखि पढाइरहेका थिए।

‘बीएस्सी सरको छापले नै शिक्षण पेसामा डोहोर्‍यायो। विद्यालय, कलेज पढ्दा साथीहरूले नबुझेको कुरा राम्रोसँग बुझाउन सक्थेँ,’ उनले भने, ‘त्यसैले शिक्षक बन्ने रहर थियो। घरमै अध्यापनसँगै तयारी गरेँ।’

माधव: मेहनतले सफलता जुरायो
दार्चुलाको लेकम गाउँपालिका–१ पुर्ख्यौली घर भएका माधवराज पन्त पनि अध्यापन सँगसँगै स्थायी जागिरेका लागि तयारीमा थिए। उनले केही वर्ष बझाङमा पनि पढाए। पछिल्लो समय उनी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ को शंकर पार्वती माविमा पढाइरहेका थिए।

‘कलेजमा साथीहरूसँग सेयर गरेर पढ्थ्यौँ। नोट कापी साटासाट हुन्थ्यो। पछि कार्यक्षेत्र छुट्टा ट्टै हुँदा पनि कहिलेकाहीँ फोनबाट तयारीका विषयमा कुराकानी भइरहन्थ्यो,’ माधवले भने, ‘हामी साह्रै मेहनती थियौँ। त्यही मेहनतले सफलता मिलेको हो।’

माधवले लेकम गाउँपालिका–१ मा रहेको बडिपुर माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि ‘प्लस टु’ गोकुलेश्वरको सेटी गाउँ उच्च माध्यमिक विद्यालयबाट पूरा गरे।

शिक्षक सेवा आयोगले सुदूरपश्चिम प्रदेशमा विज्ञान विषयका लागि खुलातर्फ तोकेका ६ सिटमध्ये तीनमा सँगै पढेका अम्बादत्त पहिलो नम्बर, गोविन्द तेस्रो नम्बर र माधव चौथो नम्बरमा सिफारिस हुन सफल भए।

यस्तै समावेशीअन्तर्गत महिलाका लागि तोकिएका दुई कोटामध्ये विमलाले पहिलो नम्बरमा नाम निकालेकी हुन्। समय व्यवस्थापन गरेर निरन्तर अध्ययन गरेमा सफलता हासिल गर्न सकिने विमला बताउँछिन्।

‘बेसिक लेबलबाटै तयारी गर्नुपर्‍यो। आफूसँग भएको समय व्यवस्थापन गरेर पढनुपर्‍यो,’ उनी भन्छिन्, ‘धेरै किताब नहेरेर एकरदुई किताबबाट अध्ययन गर्दा फाइदाजनक हुन्छ। अनलाइन प्लेटफर्मको सदुपयोग गर्न सकिन्छ।’

ताजा समाचार

सम्बन्धित समाचार