कञ्चनपुरमा इन्स्पेक्टरसहितको प्रहरी टोलीमाथि आक्रमण, भ्यान तोडफोड

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा डिउटीमा खटिएका प्रहरी निरीक्षकसहितको टोलीमाथि आक्रमण भएको छ।

बुधबार राति ११ बजेतिर ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेशविक्रम शाहको टोलीमाथि आक्रमण भएको हो।

पुनर्वास नगरपालिका–७ बुद्धबस्तीमा खडखडे (पैशा दाउमा राखेर खेलिने) खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा आफूसहितको टोलीमाथि आक्रमण भएको प्रहरी निरीक्षक शाहले बताए।

खडखडे खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको थियो। उक्त समूहले प्रहरीमाथि आक्रमण गर्नुको साथै प्रहरी टोली चढेको भ्यानमा समेत तोडफोड गरेका थिए।

घटनास्थलमा स्थानीय भीड बढ्दै गएपछि प्रहरी टोली फिर्ता भएको थियो। प्रहरी निरीक्षक शाहसहित ५ जना प्रहरीलाई सामान्य चोट लागेको छ।

प्रहरी टोलीमाथि आक्रमण गर्ने कोही पनि समातिएका छैनन्। उनीहरुको पहिचान गरेर खोजी गरिने प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार