महाकाली पक्की पुल डिजाइनको चर्चा जहिल्यै, बाढीले गाइड बण्ड भत्काएपछि बढायो झनै

प्रकाशित:

कञ्चनपुर। अघिल्लो शुक्रबार महाकाली नदीको बाढीले चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइड बण्ड (बाँध) भत्काएपछि पुलको पहुँच मार्गमा समेत जोखिम बढेको छ ।

दोधारा चाँदनीलाई जोड्ने गरी निर्माण भएको चार लेनको पक्की पुलको डिजाइनमै त्रुटि भएको चर्चा भइरहेका बेला बाँधको डिजाइनमा पनि समस्या भएको कुरा उठ्न थालेको छ ।

सुरुमा २ सय ५० किलोग्राम भन्दा बढी तौलका ढुंगाको प्रयोग गरेर पुलको दुवैतर्फका पोखरीको गाइडबण्ड बनाउने डिजाइन थियो । तर ठूलो ढुंगा नपाइएपछि ग्याबिन जाली र प्लम्ब कंक्रिटको प्रयोग गरी बाँध निर्माण गरिएको थियो ।

उक्त क्षेत्रमा महाकाली नदीको चौडाई २ किलोमिटर छ । ८ सय मिटर पुल निर्माण गरिएको छ भने दुवैतर्फ २७ सय मिटर लम्बाइ र ६ सय मिटर चौडाइका पोखरी निर्माणाधीन छन् । पुलको उत्तरतर्फ रहेको भीमदत्त नगरपालिकातिरको बाँध बाढीले भत्काएर अहिले पोखरी भरिएको छ ।

‘फेरि यस्तै बाढी आएमा पोखरी भरिएर पुलको पहुँच मार्ग (भाइरल रोड) पनि भत्किने जोखिम हुन्छ,’ पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफईसी जेभीका इन्जिनियर किशोर पाण्डयेले भने, ‘समयमा डिजाइन स्विकृत नहुनु र बजेट निकासा नहुँदा हामीले काम गर्न पाएनौं ।’

उनले अहिलेको बाढीले बाँध भत्काए पनि डिजाइनका विषयमा पनि छलफल भएको बताए । प्लम्ब कंक्रिटका साटो कंक्रिटकै बाँध निर्माण गर्नुपर्ने विषयमा पनि छलफल भएको उनले बताए । महाकालीको बहाव ४ लाख ६१ हजार क्युसेक पुग्दा बाढीले करिब २ सय मिटर बाँध भत्काएको हो । तीन वर्षअघि महाकालीमा ५ लाख ४७ हजार क्यूसेक पानीको बहाव थियो ।

त्यतिबेला पनि बाढीले पहुँच मार्ग भत्काएको थियो । त्यतिबेला पनि पुलको डिजाइनमै समस्या भएको भन्दै स्थानीय आक्रोशित भएका थिए । पोखरीको बाँध भत्किएको विषयमा निर्माण कम्पनी र पुल आयोजना दुवैले अध्ययन गरेर प्रतिवेदन बनाएका छन् ।

दुवैले समयमा काम गर्न नसक्नुलाई नै कारण देखाएका छन् । ‘हामीले पानीको गति ५ दशमवल ८ मिटर प्रति सेकेन्ड हुने अनुमान गरेका थियौं, तर त्यो दिन पानीको गति झण्डै दोब्बर थियो,’ महाकाली पुल आयोजनाका सवओभरसियर दुर्गा अवस्थीले भने, ‘महाकालीको बाढी पुरै एकैतिर सोझिएको थियो, जसको प्रेसर बांधमै परेको थियो ।’

बाँध भत्किएको ठाउँमा महाकालीको चौडाई १८ सय मिटर छ । तर बाँध नजिकैबाट करिब सय मिटरमा मात्रै पानी बगेको छ । बाँधको सुरक्षाका लागि माथिल्लो क्षेत्रमा स्पर बनाउनु पर्ने भए पनि निर्माण हुन सकेको छैन ।

नदीको वहाव सिधै बाँधमा ठोक्किएर पनि भत्क्एिको हुन सक्ने अवस्थी बताउँछन् । स्पर निर्माण भएको भए नदीको गतिलाई केही अवरोध गरेर बाँधमा दबाब नपर्ने अवस्था आउन सक्ने उनको अनुमान छ ।

बाँधकै सुरक्षाका लागि माथिल्लो क्षेत्रमा ९ वटा स्पर निर्माण गर्ने डिजाइन रहेको छ तर ३ वटा स्पर निर्माण भएका छैनन् । ‘हामीले चार ओटा कुरालाई ध्यानमा राखेर अध्ययन गरेका छौं,’ अवस्थीले भने, ‘बाँध भत्किनुको प्रमुख कारण भनेको भ्यालोसिटी बढी हुनु नै हो ।’

उनका अनुसार उक्त बाँध महाकालीमा ४ दशमलव ८ मिटर प्रतिसेकेन्ड पानीको वहाव हुन्छ भन्ने आधारमा डिजाइन गरिएको छ । तर उक्त दिन महाकालीमा पानीको वहाव १० मिटर प्रति सेकेन्डसम्म पुगेको थियो ।

पुल आयोजनाले प्रारम्भिक रुपमा चार वटा कारणले बाँध भत्केको प्रतिवेदन तयार पारेको छ । पहिलो शारदा ब्यारेजबाट नेपालतर्फकै ढोकाहरु बढी खुल्ने गरेको त्यसले नदीको धार पनि यतैतर्फ मोडिने गरेको छ ।

नदीको बीच भागमा २ मिटरसम्म अग्लो ग्राभेल थुप्रेर बसेको छ । बिचको भाग अग्लो हुँदा नदी किनारतिरै बढी बग्ने गरेको छ । कटान रोक्न माथिल्लो भागमा ९ स्पर निर्माण हुनुपर्नेमा ६ वटा मात्रै निर्माण भएको छ ।

समयमा डिजायन स्विकृत नहुँदा, बजेट निकासा र भेरिएसन नहुँदा समेत निर्माण कम्पनीले काम गर्न नसकेका कारण बाँध भत्केको अवस्थी बताउँछन् । उनका अनुसार पोखरीमा पानी भरिएको अवस्था भएमा बाढीको प्रेसर थेग्न सक्ने पनि निष्कर्ष निकालेको छ । उक्त प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको उनले बताए ।

पोखरीको बाँधको परिवर्तित डिजाइन गत आर्थिक वर्षमा निकै ढिलो स्विकृत भएको हो । तर अहिलेसम्म पनि भेरिएसन हुन सकेको छैन । जसका कारण बजेट अभाव भइ निर्माण कम्पनीले समयमा काम गर्न नपाएको अवस्थी बताउँछन् । महाकाली नदीबाट ढुंगा, गिट्टी, बालुवालगायतका निर्माण सामग्री उत्खनन् गर्दा किनारबाटै भइरहेको हुन्छ ।

जसका कारण पनि बीचको भाग अग्लो भइ किनारको भाग होचो हुँदै गएको छ । यसले समेत नदी किनारतिरै सोझिने गरेको प्राविधिकहरु बताउँछन् । नगरपालिकाले निर्माण सामग्री उत्खनन्को ठेक्का लगाउँदा बीचको भागबाट उत्खनन् गराउन सक्नुपर्ने उनीहरु बताउँछन् । कान्तिपुर

ताजा समाचार

सम्बन्धित समाचार