काठमाडौं। अमेरिकाको भर्जिनियामा बस्दै आएकी ममता काफ्ले बेपत्ता प्रकरणमा एकपछि अर्को टुइष्ट सतहमा आउँदैछन्। ममताको शव लुकाएको आरोपमा उनका श्रीमान् कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का नरेश भट्ट अमेरिकी प्रहरीको नियन्त्रणमा छन्।

अमेरिकी कानूनको छिद्र प्रयोग गर्दै चक्मा दिइरहेका नरेशका वकिलहरुले अदालतमा ममता जीवितै रहेको दाबी गरेपछि यो प्रकरण फेरि तरंगित भएको छ।

अमेरिकास्थित ममताको पक्षमा आवाज उठाइरहेका नेपाली समुदाय नरेशका वकिल दाबीपछि अचम्मित छन्।
नरेश पक्षका वकिल बेन अब्राहमले २७ जुलाईमा ममता एक अपरिचित महिलासँग निस्किएको जिकिर गर्दै उनले आफैं घर छाड्ने तयारी गरिरहेको अदालतमा दाबी गरेका छन्।

फरेन्सिक जाँचपछि प्रहरीले नरेशलाई ७ भदौमा घरबाट पक्राउ गरेको थियो। त्यसबेला प्रहरीले उनको घरबाट कार्पेट र रगतको टाटा देखिने अन्य प्रमाणहरु पनि संकलन गरेर लगेको थियो। त्यसको आधारमा प्रहरीले ममता जीवित नरहेको हुनसक्ने बताएको थियो।
तर, उनको पक्षका वकिलले भने अदालतमा नरेशले ममतालाई कुनै हानि नपु¥याएको दाबी गरेका छन्। नरेश विरुद्ध अहिले शरीर लुकाएको आरोपमा मुद्दा चलिरहेको छ। यो बीचमा प्रहरीले ममताको खोजीका लागि ठाउँ ठाउँमा सर्च अपरेशन चलाएपनि उनको अवस्था अज्ञात नै छ।
अदालतमा पुगेकी विना खड्काले सुनुवाइले आफूलाई आक्रोशित बनाएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ।
‘म नरेशलाई हेरिरहेको थिएँ – उनी जीवित थिइन्, लुकिरहेकी थिइन् – आफ्नी श्रीमतीप्रति किन अलिकति पनि उसको आँशु आउँदैन ?’ उनले भनिन्, ‘किन ऊ केही बोलिरहेको छैन ?’ ममताका साथीहरुले आफ्नी छोरीको पहिले जन्मदिनमा पनि ममताको कुनै सन्देश नआएकाले पनि उनी जीवित नरहेको बताउने गरेका छन् ।
अदालतमा उनको पक्षका वकिल बेन अब्राहमले ‘वेलफेयर चेक’का बेला प्रहरी आउँदा भट्टले सुरुमा हराएको नबताएको विषयलाई ठूलो बनाइएको बताउँदै भने, ‘खासमा उनी पहिले पनि त्यसरी घर छाडेर जाने गरेकाले त्यतिबेला नरेशले भनेका थिएनन् ।’
अब्राहमले अभियोजनकर्ता पक्षसँग पर्याप्त प्रमाणहरु नभएकाले सुनवाइमा ढिलाइ गरिरहेको दाबी गरेका छन्।
अभियोजनकर्ता पक्षले भने नरेशको घरको कोठामा देखिएका रगतका मात्रा, नरेशले ममता हराउनुअघि गुगलमा ‘श्रीमतीको मृत्युको कति समयपछि विवाह गर्न सकिन्छ’ भनेर सर्च गरेको विवरण लगायतका विषयहरुलाई आधार बनाउँदै उनको मृत शरीरलाई घरबाट बाहिर निकालिएको जिकिर अदालत समक्ष गरेको थियो।
ममता सम्पर्कविहीन भएलगत्तै नरेशले आफ्नो टेस्ला कार बिक्री गरेको पनि अनुसन्धानबाट खुलेको छ भने उनले घर पनि विक्री गर्न खोजेका थिए। ममता र नरेशबीच सामाजिक सञ्जालबाट चिनजान भएर चार वर्षअघि विवाह भएको थियो।
पछिल्लो समय उनले घरमा आफू विरुद्ध हिंसा भइरहेको भन्दै साथीहरुलाई सुनाएकी थिइन्। उनले सम्बन्धविच्छेद गर्नेबारे समेत छलफल गरिरहेको पाइएको छ। त्यहीबीचमा यो घटना भएको हो। उनीहरुको एक वर्षको छोरीको रेखदेखका लागि काभ्रेको पनौतीस्थित ममताको माइती पक्षबाट आमा र दाइ अमेरिका गएका छन्।


