बैतडी । वर्षा र चट्याङका कारण गत बुधबारदेखि बैतडीको विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँ स्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।
विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ ।
विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गणेश विष्टले बताए । उनले भने, “बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको छ, मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । चार्ज नहुँदा सञ्चारविहीन हुनुपरेको छ ।”
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या भएको जानकारी दिए । उनले भने, “लाइनमा आएको समस्या केही हदसम्म समाधान भएको छ, अब मुख्य फेडरबाट लाइन चलिरहेको छैन । लगातारको वर्षाले नियमित विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको छ ।”
यहाँ बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने जनाउँदै बैतडीसहित सुदूरपश्चिमका ६ जिल्ला रेड जोडमा राखेको छ ।
लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन् । उनले भने, “यहाँ दुई दिनदेखि लगातार वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बैतडीलाई रेड जोडमा राखेको छ । सबैलाई सतर्कता अपनाउन आग्रह छ ।”