बैतडीमा आत्महत्या बढ्दो: तीन वर्षमा ९३ जनाले जीवन त्यागे

प्रकाशित:

बैतडी । बैतडीमा आत्महत्याका घटनामा चर्को वृद्धि देखिएको छ। विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भए तापनि आत्महत्याका घटनामा कमी आउन सकेको छैन। पछिल्लो तीन वर्षमा बैतडीमा ९३ जनाले आत्महत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १२ महिला र २४ पुरुष गरी ३६ जनाले आत्महत्या गरेका थिए। तीमध्ये ३० जनाले झुण्डिएर आत्महत्या गरेका थिए भने ६ जनाले विष सेवन गरेका थिए। आर्थिक वर्ष २०७९/८० मा १३ महिला र १२ पुरुष गरी २५ जनाले आत्महत्या गरेका थिए। गत आर्थिक वर्षमा १६ महिला र १६ पुरुष गरी ३२ जनाले जीवन त्यागेका छन्।

चालु आर्थिक वर्षको साउन महिनामा मात्र ७ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। पछिल्लो समय किशोरावस्थाका व्यक्तिहरूमा आत्महत्याको संख्या बढ्दै गएको छ। पाण्डेयका अनुसार, आत्महत्या रोकथामका लागि प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि अभिभावकहरूले पनि यसमा ध्यान दिनुपर्ने आवश्यकता छ।

आत्महत्या रोकथामका लागि पारिवारिक संवादको वातावरण आवश्यक रहेको उपप्राध्यापक पृथ्वीराज अवस्थीले बताए। उनले किशोरावस्थाका छोराछोरीहरूसँग निरन्तर संवाद गर्नुपर्नेमा जोड दिए।

मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्या बढ्दै गएको र त्यसको रोकथामका लागि मानसिक स्वास्थ्य कार्यक्रमहरू विस्तार गर्नुपर्ने कुरा पाटन नगरपालिकाकी जनस्वास्थ्य निरीक्षक दमन्ती ऐरले बताइन्। उनले भनिन्, “हामीले शारीरिक स्वास्थ्यमा मात्रै ध्यान दिएका छौं, मानसिक स्वास्थ्यमा पर्याप्त ध्यान दिइएको छैन।”

आत्महत्या रोकथामका लागि प्रहरीले वडा तहमा आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यदल गठन गर्दै आएको छ। कार्यदलमार्फत जनचेतना फैलाउने काम भइरहेको छ। प्रहरी निरीक्षक पाण्डेयका अनुसार, आत्महत्या रोकथामका लागि सर्वपक्षीय प्रयास आवश्यक छ।

 

ताजा समाचार

सम्बन्धित समाचार