काठमाण्डौ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै ढुंगानाले पूर्व प्रधानमन्त्रीजस्तो व्यक्तिले “देश श्रीलङ्का र बङ्गलादेश बन्छ” भन्ने प्रकारका अभिव्यक्ति दिनु उपयुक्त नहुने बताएका हुन्।
उनले सत्तामा हुँदा आफू सही र अर्को व्यक्ति सत्तामा आउँदा गलत ठहरिने प्रवृत्तिको आलोचना गर्दै, पदका लागि गरिने अस्थिरता र उथलपुथलले देशलाई अप्ठ्यारोमा पारेको उल्लेख गरे। ढुंगानाले अहिलेको गठबन्धन अप्ठ्यारो अवस्थामा आवश्यकताबाट बनेको बताउँदै, प्रचण्डलाई लक्षित गर्दै “मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनु भयो?” भन्ने प्रश्न गरे।
उनले भ्रष्टाचार र सुशासनका कुरा गर्नेहरूलाई सुनकाण्डको प्रसंग उठाउँदै, “कति जना जेलमा छन्?” भन्दै आलोचना गरे। ढुंगानाले देशको वर्तमान अवस्थाका लागि नेताहरूको गलत निर्णय र क्रियाकलाप जिम्मेवार रहेको टिप्पणी गरे। थप स्थिरताका लागि अहिलेको सरकार आवश्यक रहेको उनको भनाइ थियो।