बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–४ स्थित लटैनाथ मन्दिरमा गौरा पर्वको मेलामा दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा दोगडाकेदार–४ का २३ वर्षीय नरेन्द्र बिष्ट र ३० वर्षीय सुरजसिंह ठगुन्ना रहेका छन्।
वडाध्यक्ष तर्कराज भट्टका अनुसार बिहीबार बेलुका भएको झडपमा नेपाली सेनामा कार्यरत बिष्टको टाउकोमा गम्भीर चोट लागेको छ, जसका कारण उनलाई ११ टाँका लागेको छ। त्यस्तै, ठगुन्नाको मुखमा चोट लागेको छ। दुवैजनाको स्थानीय श्रीकेदार स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि धनगढी लैजाने तयारी भइरहेको छ।
प्रहरीले झडपमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। दोगडाकेदार गाउँपालिका–५ का किरन चन्द, रोशन चन्द, र सञ्जय चन्दलाई नक प्रहार गरी घाइते बनाएको आरोपमा पक्राउ गरिएको हो। तीनैजना इलाका प्रहरी कार्यालय पाटनको नियन्त्रणमा रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार प्रारम्भिक अनुसन्धानले वादविवादकै कारण दुई पक्षबीच झडप भएको खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।