गौरा पर्वको धार्मिक महत्व

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवम् सांस्कृतिक पर्व गौरालाई मान्ने गरिन्छ । गौरा पर्व सुदूरपश्चिममा परापूर्व कालदेखि नै मनाँउदै आएको पर्व हो । सुदूपश्चिमेलीहरूले धुमधामका साथ मनाउने गौरा पर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ । यो पर्व सुदूरपश्चिममा एक ठूलो पर्वका रूपमा मनाइन्छ ।

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरुले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडामा ‘बिरुडा’ अर्थात पाँच थरिका गेडागुडी भिजाउने गर्दछन । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरु द्धारा गौरा घरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादको रुपमा प्रयोग गर्ने गर्दछन् । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा बनाइ गौरा घरमा भित्र्याउने गर्दछन् ।

धार्मिक अनुष्ठान एवम् पूजाआजाका साथै गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरीको पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसके पछि विसर्जन नगरिएसम्म गौरा घरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर रमाइलो गर्ने गर्दछन् ।

कसरी सुरु भयो गौरा पर्व ?

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजवान पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।

गौरा पर्वको महत्व

गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ । महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथनअनुसार यस पर्वमा विशेषगरी गौरी अथार्त पार्वतीको पूजाअर्चना गरिन्छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी महिलाहरूले दुबधागो चढाउने गर्छन् । अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको छ । सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्त्व रहेको छ ।

अनुकुल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक,आस्था,आपसी सदाव बढाउन मद्धत पु¥याउने मात्र नभई यस पर्वमा ब्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्टकुलदेवता प्रसन्न हुने जनविश्वास रहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार