गोदावरी । चुरे गाउँपालिका–४ हुँदै बग्ने कालेखोलामा पुल नहुँदा स्थानीय स्कुले बालबालिका जोखिमपूर्ण यात्राको सामना गर्दै विद्यालय जान बाध्य भएका छन्। वर्षायाममा झन् चुनौतीपूर्ण बन्दै गरेको यो यात्रा, समैजी आधारभूत विद्यालय जाने बालबालिकाहरूका लागि ठूलो समस्या बनेको छ।
पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीहरूलाई अभिभावकले हरेक बिहान र दिउँसो विद्यालय पुर्याउने र ल्याउने गरेका छन्। यस क्रममा उनीहरू निथ्रुक्क भिजेर विद्यालय पुग्नुपर्ने अवस्था छ। शिक्षक मदन विकका अनुसार कालेखोलामा पुलको अभावका कारण बालबालिकाहरूले यस्तो कठिनाइ भोग्नुपरेको हो। उहाँले भने, “ठूलो पानी पर्ने बित्तिकै विद्यार्थीहरू विद्यालय आउनै छाड्छन्।”
स्थानीय बासिन्दाहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुल निर्माणको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेश सरकारसँग अनुरोध गरिरहे पनि सुनुवाइ नभएको गुनासो छ। स्थानीय बासिन्दा हेमबहादुर विष्टले यसबारे आवाज उठाउँदा पनि अझै समाधान हुन नसकेको बताउनुभयो।
चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले भने सीमित बजेटका कारण पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको प्रष्ट्याउनुभएको छ। गाउँलेहरूले झेलिरहेको यो समस्याले विद्यार्थीहरूको शिक्षामा अवरोध पुर्याएको छ, जसको समाधानका लागि तत्काल पहल आवश्यक देखिएको छ।