महेन्द्रनगर । रत्नाकार डाकु ‘वाल्मीकि’ ऋषिमा रुपान्तरण भएको प्रसंग धरै पुरानो भयो । वर्तमान विश्वमा पनि मानिसहरु गलत बाटो परित्याग गरी सत्मार्गमा आएका उदारहण थुप्रै छन् । तर, के ‘विजय कृष्ण मुर्तिजी महाराज’ का हकमा पनि यो लागू होला त रु आशंका गर्ने ठाउँ छ ।
पशुपति मन्दिरमा एक महिनासम्म चलेको कोटिहोमका एकल आयोजक वा संकल्पकर्ता हुन् बाल योगेश्वर श्री विजय कृष्ण मुर्तिजी महाराज उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारी । उनले यो एक महिनामा देशका एक से एक धार्मिक अगुवा, कथावाचक, पण्डित अभियन्तादेखि कलाकारसम्मलाई महायज्ञस्थलमा उतारे । यो बीचमा कयौं विवादहरु उब्जिए र सेलाए, तर कोटीहोम सेलाएन । अन्तिम दिनसम्मै हजारौं भक्तजन कोटीहोममा भिड लागेर द्रव्यदानको होड गरिरहेका छन् ।
आफूले गरेको दान कहाँ प्रयोग हुन्छ, वा दुरुपयोग हुन्छ भन्नेमा समेत अधिकांशले चासो राखेको पाइंदैन । हुन त उनीहरुलाई जबरजस्ति गरेर पैसा असुलिएको पनि छैन । तर, भण्डारीले भक्तहरुबाट प्राप्त भएको दान एकल तजबिजमा खर्च गरिरहेको छर्लंगै देखिन्छ ।
के महायज्ञमा उठेको रकम संकल्पकर्ताले मनमौजी रुपमा खर्च गर्न वा आफ्नो व्यक्तिगत बनाउन सक्छन् रु त्यसतर्फ जानुअघि सुरुमा भण्डारीलाई नजिकबाट चिन्ने प्रयास गरौं, जसले गेरु वस्त्रको आडमा मानिसहरुलाई भुलभुलैयामा पारेर धर्मलाई आफ्नो ‘धन्दा’ बनाएका छन् । अहिले पण्डितको भेषमा कोटिहोम लगाइरहेका भण्डारी ठगीको मुद्दामा दोषी ठहर भएर जेल सजायसमेत काटेका व्यक्ति हुन् ।
माओवादीदेखि ‘खाओवादी’ सम्मको यात्रा
गुल्मीको घुर्कोटवस्तु १ मा २०४४ साल असार १ गते जन्मेका विजय भण्डारीले आफ्नो प्रारम्भिक शिक्षा जन्मस्थान गुल्मीबाटै प्राप्त गरे । उनका बुवा मनिराम माओवादीका एरिया कमिटी सचिव थिए । बाबुको पदचिन्हमा हिँड्दै विजय पनि माओवादीनिकट अखिल क्रान्तिकारीमा संलग्न भए । तर, प्रहरीको निशानामा परेपछि ८ कक्षा पढ्दै गर्दा गाउँ छोडेर काठमाडौं आए र यहीँबाट एसएलसी उत्तीर्ण गरे ।
काठमाडौंको थानकोटमा रहेको अरविन्द योगा मन्दिर आश्रममा बसेर माउन्ट भ्याली विद्यालयबाट उनले एसएलसी पास गरेका थिए । बुवा मनिरामलाई माओवादीले आर्थिक हिनामिना गरेको आरोपमा पार्टीबाट निस्काशन गर्दै गर्दा यता छोरा पनि आश्रमबाट निकालिए । कान्तिपुर दैनिकले २०७६ सालमा प्रकाशित गरेको एक समाचारमा उल्लेख भए अनुसार उनले गाडीको टायर चोरेको आरोप प्रमाणित भएपछि आश्रमबाट लखेटिएका थिए ।
एसएलसीपछि भण्डारीले के–कति अध्ययन गरे भन्ने स्पष्ट छैन । यद्यपि, उनले बैंगलोर लगायत विभिन्न विश्वविद्यालयबाट संस्कृतमा उच्चशिक्षा लिएको दाबी गर्छन् । २०६८ बाट भण्डारीे गेरुवस्त्र धारण गरेर पुराण भन्न थाले । २०६८ वैशाखमा उनले ५ लाख रुपैयाँ जुटाएर कलंकीमा भागवत पुराण लगाए । त्यसबाट राम्रै आर्थिक उपार्जन भएपछि उनले यसैलाई आफ्नो ‘व्यवसाय’ बनाउँदै आएका छन् । विभिन्न स्थानमा महायज्ञ, धानाञ्चल, कोटिहोम आदि नाममा धार्मिक अनुष्ठानको व्यवस्थापन गर्दै त्यसमा उठेको ठूलो दान रकम कुम्ल्याउने गर्छन् ।
२०६८ सालमै उनले मानव कल्याण आध्यात्मिक परोपकार संघ नाम संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता गरे । आफ्नो नाम आफैंले बदलेर ‘विष्णु प्रपन्नाचार्य महाराजजी’ कहलाए । उनले आफ्नो संस्थामार्फत अमेरिकामा धार्मिक कार्यक्रम गर्ने भन्दै पैसा उठाउन थाले । धार्मिक अनुष्ठानका लागि नेपालबाट १०८ जना अमेरिका लैजाने भन्दै उनले जनही १ लाख रुपैयाँ उठाउने अभियान चलाएका थिए । कूल खर्च ५ लाख ५० हजार लाग्ने बताएर सुरुमा पेस्कीस्वरुप १–१ लाख उठाउन सफल भए ।
तर, अमेरिकामा त्यस्तो कुनै कार्यक्रम नरहेको थाहा पाएपछि पैसा दिनेहरुले फिर्ता माग्न थाले । केहीलाई उनले चेक दिएर थुम्थुम्याए । तर, खातामा पैसा नभएपछि पीडितहरु प्रहरीदेखि वैदेशिक रोजगार विभागसम्म धाउन थाले । काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा ३३ जनाले एक करोड ३८ लाख रुपैयाँ ठगी गरेको आरोपमा भण्डारीविरुद्ध उजुरी दिएका थिए ।
अन्ततः २०६९ कात्तिकमा जिल्ला प्रहरी कार्यालय गुल्मीले भण्डारीलाई दसैं मनाएर घरबाट फर्कने क्रममा पक्राउ गर्यो । भण्डारीसँगै उनकी श्रीमती सुलोचनाविरुद्ध पनि जिल्ला अदालत काठमाडौंमा २०७१ असोज १ गते मुद्दा दायर भयो । एक जनाले ३ लाख रुपैयाँ सुलोचनाको नाममा पठाएकाले उनी पनि फन्दामा परेकी थिइन् ।
यो मुद्दामा २०७३ साल मंसिर ६ गते जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीले फैसला गर्दै विजय भण्डारीलाई दुई वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको सजाय सुनाएको थियो । फैसला हुँदासम्म भण्डारी २ वर्ष २९ दिन थुनामा बसिसकेका थिए । बाँकी रहेको ३ महिना र १ दिन सजाय भोगेर भण्डारी २०७३ साल चैत १४ मा जेलमुक्त भए । पत्नी सुलोचनालाई तीन लाख रुपैयाँ जरीवाना र ३ महिना कैद सजाय सुनाइयो । भण्डारीले ठगेको पैसा तिर्ने क्रममा सुलोचनाको माइती घर नै लिलाम भएको थियो ।
अदालतले तोकेको जरिवानाको सूची यसप्रकार छःभण्डारीविरुद्ध जिल्ला अदालत काठमाडौंको कैद फैसलाको पूर्णपाठ
जिल्ला अदालतको फैसलामाथि पुनरावेदन गर्न पाउने हकको प्रयोग पनि भण्डारीले गरेका हुन् । उनले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । तर, उच्चले पनि २०७५ मंसिर ११ मा जिल्लाकै आदेश सदर गरेपछि उनी अदालतबाट ‘ब्रान्डेड ठग’ का रुपमा स्थापित भए । पछिल्लो समय आफूले उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको उनको दाबी छ ।
धर्मलाई व्यवसाय बनाएका भण्डारीले जेल सजाय भुक्तानीपछि पनि त्यही कर्म जारी राखे । धार्मिक अनुष्ठानमा आफैं वाचक वा आयोजक भएर उठेको रकमको यति प्रतिशत पाउने भन्ने पहिल्यै सम्झौता गर्छन् । तर, थोरै रकम छोडेर बाँकी सबै आफैं कुम्ल्याउने गरेको आरोप लाग्दै आएको छ ।
भण्डारीको पारिवारिक जीवन पनि विवादित छ । नजिकबाट चिन्नेहरु भण्डारीले बहुविवाह गरेको बताउँछन् । एक श्रीमती सुलोचना हुन्, जो श्रीमानको हर्कतले आफैं घरको न घाटको भएकी छन् । अर्की पत्नी राई थरकी हुन् । उनी कतै पनि सार्वजनिक भएकी छै्रनन् ।
चोख्याउने प्रयास
केही दिन अगाडि चर्चित पत्रकार प्रकाश सुवेदीले भण्डारीलाई आफ्नो कार्यक्रममा अतिथि बनाए । प्राय चलचित्र सम्वद्ध व्यक्तिहरुलाई डाकिने कार्यक्रममा यी व्यक्तिको अन्तरवार्तालाई धेरैले आपसी मिलेमतोमा लिइएको ठानेका छन् । भण्डारीलाई ‘सुनपानी छर्केर चोख्याउने’ मनसायले सो अन्तरवार्ता लिइएको सहज अनुमान गर्न सकिन्छ ।
कार्यक्रममा भण्डारीलार्ई परिचय गराउँदै भनिएको थियो– कथा एवम् सत्संग कार्यक्रमका नाममा कतिपय युवालाई अमेरिका लैजाने विषयमा यिनको समेत नाम मुछिएको केही समय कारागार जीवन बिताउनु परेको थियो । तथापि यतिखेर उक्त मुद्दा किनारा लागिसकेको विजयकृष्ण मुर्तिले हामीलाई जानकारी गराइदिए । भण्डारीले जे भने त्यसैलाई सर्लक्क पत्याएर ‘मुद्दा किनारा लागिसकेको’ भाष्य बनाउन खोजियो । मुद्दा किनारा लाग्नुको अर्थ सफाइ पाउनु हुन्छ । जबकि भण्डारीले सफाइ पाएको नभएर सजाय भोगेका हुन् ।
अन्य अतिथिहरुलाई उनीहरुको पुराना र साम्य भइसकेका ‘कन्ट्रोभर्सी’ हरु खोतली-खोतली दिक्क पार्ने प्रकाश सुवेदीले भण्डारीको ठगी पृष्ठभूमिबारे कुनै अप्ठेरा प्रश्न गरेनन् । उनले सुरुमै ‘म तपाईंसँग विगतका भन्दा पनि वर्तमानको विषयमा कुरा गर्छु’ भनेर आफ्नो आशय स्पष्ट गरेका थिए । अन्तरवार्ताभरि भण्डारीलाई नरम प्रश्नहरु सोधेर आरोपहरुको आरामसँग खण्डन गर्ने सुविधा दिइएको थियो ।
प्रकाश सुवेदीकाे कार्यक्रममा अन्तरवार्ताका क्रममा भण्डारी
उक्त अन्तरवार्तामा भण्डारीले केही मिडियाले आफूसँग पैसाको बार्गेनिङ गरेको र नदिएपछि गलत समाचार छापेको दाबी गरेका थिए ।
उनलाई उकास्दै सुबेदी सोध्छन्, ‘तपाईंसँग (पत्रकारले) सिधै पैसा माग्छन् ?’
भण्डारी भन्छन्, ‘हामीबाट उहाँहरुले केही लाभ खोजिरहनु भएको हुन्छ । हामीले सबैलाई विज्ञापन त दिन सक्दैनौं, तर सामाजिक आध्यात्मिक क्षेत्रमा योगदान दिएका केही सञ्चारकर्मीलाई समेट्ने प्रयास गरेका छौंैं । हजुरले प्रचार गरिदिनुस्, संकलन भएछ भने धेरै ठूलो रकम त दिन सक्दैनौं, आउने–जाने पेट्रोल खर्चको व्यवस्था गरौंला भनेर वचन मात्रै दिएका हौं ।’
अब प्रकाश सुबेदीले पनि ‘आउने–जाने पेट्रोल खर्च’ कै आश्वासनमा राष्ट्रिय टेलिभिजनको प्लेटफर्म ठग भण्डारीलाई उपलब्ध गराए होलान् भनेर पत्याउन सकिँदैन । ठूलो आर्थिक लेनदेन गरे होलान् भनेर बिनाप्रमाण ठोकुवा पनि गर्न सकिँदैन । तर, उनकै शैलीमा ‘दालमे कुछ काला है’ अवश्य भन्न सकिन्छ ।
यसभन्दा अघिल्लो एपिसोडमा उनै प्रकाश सुबेदीले कोटिहोमकी कथावाचिका देवी प्रतिभालाई ल्याएका थिए । सो एपिसोडमा उनले देवी प्रतिभाबारे अनेक झूटा प्रचार गरे । देवी प्रतिभा अहिलेसम्म अविवाहित रहेको, आचार्यसम्मको अध्ययन गरेको, भारत सरकारले बडिगार्ड दिएको लगायत सुबेदीका दाबीहरु झूट ठहरिएका छन् । यो विषयमा उनले अर्को एपिसोडमा आफ्नो स्पष्टीकरण दिनुपर्थ्याे । तर, दिएनन् ।
त्यसो त केही मिडियाले ‘नलेखेर’ पनि भण्डारीलाई सहयोग गरेका छन् । विगतमा ‘ठग महाराज’ भनेर सनसनीखेज समाचार छाप्ने केही ‘बिग मिडिया’ हरुले अहिले यत्रो विवाद आइरहँदा उनीबारे एक शब्द पनि लेखेनन् । केही कहलिएका सञ्चारकर्मीहरु कोटिहोममा पुगेर ‘ठग महाराज’ बाट सम्मान थाप्दै पनि गरेको देखियो । भण्डारीले केही युट्युवरलाई प्रचारप्रसारका लागि भाडामा समेत लिएका थिए ।
भण्डारी चोख्याउन केही नाम चलेका धार्मिक गुरुहरु पनि खुलेर उत्रिए । कमलनयनाचार्य देखि आचार्य श्रीनिवास र सिद्धबाबासम्म कोटिहोममा पुगेर भाषण गरेका थिए । भण्डारीको पृष्ठभूमिलाई नजरअन्दाज गर्दै उनको गुणगान गाएका थिए ।
पशुपति कोटिहोम आयोजनाको अन्तर्य
धार्मिक रुझान भएको देशमा भक्तको मनोभावनालाई दुरुपयोग गर्दै धनार्जन गर्न खप्पिस भएका भण्डारीले पशुपतिमा लगाएको कोटिहोमको मुख्य उद्देश्य पनि आर्थिक उपार्जनभन्दा अर्को देखिँदैन । कोटिहोमको आयोजना धार्मिक शास्त्रीय विधिअनुसार नभएको भनेर धर्मशास्त्रका अगुवाहरुले बताइसकेका छन् । बाहिरबाट हेर्दा पनि यो कुनै महायज्ञभन्दा ‘धार्मिक कन्सर्ट’ मनोरञ्जनात्मक कार्यक्रमजस्तो प्रतित हुन्छ । त्यहाँ कथावाचन र प्रवचन भन्दा बढी नाचगान तथा सम्मान थाप्ने कार्यक्रमहरु बढी भएका थिए ।
महायज्ञस्थलमा यत्रतत्र दर्जनौं ‘दान सचिवालय’ हरु राखिएका छन् । दानको ‘साइज’ अनुसारको ‘स्किम’ दिइएको छ । थोरै रकम दान गर्नेले थोरै सम्मान र धेरै रकम दान गर्नेले धेरै सम्मान पाउँछन् । ५ सय रुपैयाँभन्दा कम दान गर्नेले केही पनि पाउँदैनन् । उनीहरुले दिएको रकम ‘दानपेटिकामा राख्ने’ मात्र भनिएको छ । यसको कुनै हिसाब हुँदैन । रु. ५०० भन्दा माथि दिनेले रसिद मात्र पाउँछन् । ५ हजारभन्दा माथि दिनेको स्टेजबाट नाम घोषणा हुन्छ ।
स्किमहरु यसप्रकार छन्ः
रु. ५५५ देखि १,००० सम्म दान गर्नेलाई रसिद काटेर सचिवालयबाट रुद्राक्ष मालाले सम्मान गर्ने
रु. १,१०० देखि २,१०० सम्म दान गर्नेलाई रसिद, रुद्राक्ष मालासहित फ्रेममा सम्मानपत्रले सम्मान गर्ने
रु. २,५०० देखि रु. ३,५०० सम्म दिनेलाई रामनामी र फ्रेममा सम्मानपत्र दिने
रु. ५,००० देखि ९,००० सम्म दिनेलाई रामनामी र फ्रेममा सम्मानपत्र दिएर मञ्चबाट नाम घोषणा गर्ने
१०,००० देखि १४,००० सम्म दान दिनेलाई फ्लेक्स बोर्डमा नाम लेखी रामनामी र विशेष फ्रेममा सम्मानपत्रले मञ्चमा सम्मान गर्ने
रु. १५,००० देखि २१००० सम्म दान गर्ने दाताको दुईजना सदस्यलाई आश्रमको शिलालेखमा एक जनाको नाम लेखी उक्त दिनको अतिथिको रुपमा विशिष्ट फ्रेमसहित मञ्चमा सम्मान गर्ने
रु. २२,००० देखि २९,००० सम्म दान दिनेलाई दुवोको माला लगाएर उत्कृष्ट फ्रेममा दोसल्ला ओढाएर उक्त दिनको विशिष्ट अतिथिको रुपमा मञ्चमा सम्मान गर्ने
रु. ३०,००० देखि ४५,०००सम्म दान दिनेलाई दुवोको माला लगाएर कार्यक्रम परिसरको पाण्डालको मुल प्रवेशद्वारबाट बाजा बजाई मञ्चमा लगी उक्त दिनको एक सत्रको सभानायक बनाउने
रु. ५०,००० देखि ७५,००० सम्म दिने परिवारका दुईजनालाई दुबोको माला लगाएर श्री पशुपतिनाथ मन्दिरको गेटबाट बाजा बजाएर मञ्चसम्म लगी उक्त दिनभरको सभानायकको रुपमा सम्मान गर्ने
रु. १,००,००० देखि ३,००,००० सम्म दिनेलाई घरमै बाजागाजाका साथ गएर महायज्ञ परिसरमा ल्याउने
रु. ३,००,००० लेखि ५००००० सम्म दिने परिवारका पाँच जनालाई दुबोको माला लगाएर घरबाट कार्यक्रम परिसर र कार्यक्रम परिसरबाट घरसम्म बाजागाजासहित ल्याउने र आँखिझ्यालमा विशेष सम्मानपत्र दिने
रु. ५,००,००० देखि माथि दिने परिवारका ६ जनालाई दुबोको माला लगाएर रथमा राखेर चक्रपथ घुमाउने
५,५५,००० देखि माथि दिने दानवीरदाताको नाममा आश्रममा बन्ने एउटा कोठामा दम्पत्तिको नामाकरण गर्ने
एक लाख प्रदान गरेर मामाघर अनाथालय आश्रममा बस्ने एक अनाथ बालबालिकाको अभिभावक बन्न पाइने
उल्लेखित यस्ता स्किमले नै महायज्ञलार्ई सबैभन्दा बढी विद्रुपीकरण गरेको छ । हरेक मान्छेले आफ्नो अनुकूलता र गच्छेअनुसार स्वैच्छिकरुपमा दान गर्ने हुन् । यस्ता ‘अफर’ ले बढी रकम दिन पक्कै पनि मनोवैज्ञानिक दवाव पक्कै दिन्छ । उच्च सम्मानका खातिर मानिसहरु आफ्नो क्षमताभन्दा बढी दान गर्न हौसिन्छन् । यो पनि एकप्रकारको आर्थिक शोषण हो ।
आयोजकले अहिलेसम्म कति रकम उठ्यो भनेर खुलाएको छैन । तर, महायज्ञको मुल प्रवचन स्थलमा गएर एक छिन बस्दा नै आंकलन गर्न सकिन्छ कि अकुत रकम उठेको छ । यो रकम कहाँ कसरी खर्च गरिन्छ भन्ने कुनै पनि स्पष्टता छैन । सबै कुरा विजय भण्डारीको व्यक्तिगत तजविजमा हुने छ ।
भण्डारी हर्ताकर्ता रहेका संस्थाहरु आधादर्जनभन्दा बढी छन् । तीनै संघ-संस्थाको व्यवस्थापन र आश्रम निर्माणमा रकम खर्च गर्ने भण्डारीले बताएका छन् । ती खर्चको कुनै पनि पारदर्शीता नहुने पक्का छ ।
खासमा यहाँ केही पनि पारदर्शी छैन । ५ सयभन्दा तलको दानको हिसाबै हुँदैन । जबकी ५ सयभन्दा कम दानबाटै लाखौं रकम उठिरहेको हुन्छ । त्योभन्दा माथिका दानहरुको विवरण पनि कहाँ कसरी रहन्छ भन्ने आयोजकले स्पष्ट पारेको छैन । दान दिइएको रकम के–कसरी खर्च भइरहेको छ भन्ने दाताहरुले थाहा पाउने अवस्था छैन ।
कुन कथावाचकले कति रकम लगे भन्ने गोप्य राखिएको छ । भण्डारी लोकरिझ्याइमा पनि माहिर छन् । आफ्नो व्यक्तिगत तर्फबाट भन्दै अस्ति नेपालको महिला भलिबल टीमलाई ५ लाख रुपैयाँ दिएर स्याबासी पाए । तर, उनले यो रकम घरबाटै ल्याएर दिएका हुन् भनेर पत्याउन मुस्किल पर्छ ।
धार्मिक रुझान भएको देशमा यस्ता अनुष्ठानहरु हुनु तथा असल कार्यका लागि दान/भेटीहरु संकलन गरिनुलाई अन्यथा मान्न सकिन्न । यो आयोजनाका थुप्रै राम्रा पक्षहरु पनि छन् । केही भर्खरका युवा-युवतीहरु कथावाचकका रुपमा उदाए, जसले गर्दा नेपालमा संस्कृत शिक्षाप्रति नयाँ पुस्ताको चासो र आकर्षण बढ्न सक्ने आशा गर्न सकिन्छ । दुई दलित युवाहरुले पहिलोपटक व्यासासनमा उक्लिएर प्रवचन दिन पाए । यसलाई दलित समुदायले छुवाछुतविरोधी अभियानमा एउटा ‘क्रान्ति’ कै रुपमा विश्लेषण गरेका छन् ।