महेन्द्रनगर । मध्य साउनको टन्टलापुर घाममा कोही प्लाष्टिकका बोरामा माटो भर्दैछन्, कसैले भरेका बोरा सिउँदैछन् ।
कोही बोरालाई नदी किनारमा तारजालीमा मिलाउन त कोही बाँस गाडेर बोरा अड्याइरहेका छन् । जोगबुडा नदीको बाढीले हरेक वर्ष धनजनको क्षति व्यहोर्दे आएका दोधारा चाँदनी नगरपालिका–१० का बासिन्दा तटबन्ध निर्माणमा लागेका हुन् ।
जोगबुडापारिका बस्तीलाई कच्ची तटबन्धकै भर
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० को १८ नं. बस्तीमा जोगबुडा नदीको कटान रोक्न सिमेन्टका बोरामा माटो भरेर तटबन्ध निर्माण गरिँदै ।असार तेस्रो साता आएको बाढीले पक्की तटबन्ध भत्काएर कटान सुरु गरेपछि वडा १० को १८ नं. बस्तीनजिकै जोगबुढा किनारमा कच्ची तटबन्ध बनाउने काममा सबै जुटेका हुन् । जोगबुडा नदीको बाढी सिधै बस्ती पस्नबाट रोक्न र कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गर्नुपरेको हो ।
‘त्यतिबेलाको जस्तो बाढी आए त अब बस्ती पूरै लगेर जान्छ, यसले सानोतिनो छेकवार गर्ला भन्ने आशा छ,’ १८ नं. बस्तीका दीनबहादुर रानाक्षेत्रीले भने, ‘कटान नरोकिए झोलुंगे पुल पनि जोखिममा हुन्छ, त्यसपछि हाम्रो आउजाउ नै ठप्प हुन्छ ।’ उनका अनुसार असार तेस्रो साताको बाढीले झोलुंगे पुलनजिकै करिब ५० मिटर तटबन्ध कटान भएको छ । अहिले स्थानीयको जमनि पनि कटान भइरहेको छ ।
जेगबुडा नदी पारि रहेको १८ नं. बस्ती भारतसँगै जोडिएको छ । यहाँ ७ परिवारको मात्रै बसोबास छ । एक दशकअघिसम्म यहाँ १५ परिवारको बसोबास थियो । नदीको निरन्तर कटानका कारण अन्य परिवार विस्थापित भइसकेका छन् । स्थानीयले घर अग्लो स्थानमा बनाएका छन् । होचो भागमा धान र उखुखेती गरेका छन् ।
‘धान त कसैको केही बाँकी रहेन, सबै माटोले पटान भएको छ,’ रानाक्षेत्रीले भने, ‘उखु पनि धेरै पटान भएको छ, अलिअलि बाँकी छ ।’ उनका अनुसार जोगबुडाको बाढी बस्ती पस्दा पूरै गाउँ जलमग्न भएको थियो । त्यतिबेला यताउता भाग्ने ठाउँ समेत थिएन । रातिको समयमा तटबन्ध भत्काएका कारण झनै समस्या भएको उनले बताए ।
दोधारा चाँदनी–८ मा पनि अहिले बोरामा माटो भरेर कच्ची तटबन्ध निर्माण गरिँदैछ । जोगबुडा नदीको बाढीले तटबन्ध भत्काएर यहाँबाट पनि बस्तीमा पसेको थियो बाढीले ४ वटा घर भत्काउनुका साथै धानखेत पूरै पटान गरेको छ ।‘त्यस्तो तारजालीको तटबन्ध त भत्कायो, अब यसले के रोक्ला,’ दोधारा चाँदनी–८ सुन्दरनगरका शेरबहादुर थापामगरले भने, ‘ठूलै बाढी आए त बस्ती पूरै लैजान्छ, सानोतिनो रोकथाम गर्ला ।’ असार तेस्रो साताको बाढीले तटबन्ध फोडेर उनीसहित ४ जनाको घर भत्काएको छ । अहिले उनीहरु आफन्तको घरमा बसिरहेका छन् ।
जोगबुडाको बाढीले नदी पारिका बस्ती बढी जोखिममा छन् । बडुवाल टोलदेखि कुतियाकभरसम्म आधादर्जन बस्ती नदी पारि छन् । ती बस्तीहरु वर्षेनी डुबान र कटानको जोखिममा छन् । कुतियाकभर, सुन्दरनगर, कञ्जभोजलगायतका बस्ती जहिल्यै डुबानमा पर्छन् ।
जोगबुडा नदीबाट हुने कटान र डुबान रोकथामका लागि उक्त क्षेत्रमा तारजालीसहितको तटबन्ध निर्माण पनि गरिएको छ । तर तीन साताअघिको बाढीले आधा दर्जन ठाउँमा तटबन्ध भत्काएर नदी बस्तीतिर पसेका कारण स्थानीय त्रसित छन् । वडा कार्यालय र नगरपालिकाको सहयोगमा अहिले सिमेन्टका बोरामा माटो भरेर कामचलाउ तटबन्ध निर्माण भइरहेको छ ।
बाढीले खेतमा पटान गरेको माटो बोरामा भरेर तटबन्ध निर्माण भइरहेको हो । तर ठूलो बाढी आए त्यसको भर नहुने स्थानीय बताउँछन् । उक्त क्षेत्रमा तत्काल तटबन्ध निर्माण गर्न सकिने अवस्था पनि छैन नदीपारि निर्माण सामग्री लैजान सकिने अवस्था समेत छैन ।
साभार:कान्तिपुर