१३ लाख दिने सहमतिपछि धनगढीको नोभा हस्पिटलबाट परिवारले बुझे नसिब चौधरीको शव

प्रकाशित:

धनगढी । क्षतिपूर्ति दिने सहमति भएपछि धनगढीको नोभा हस्पिटलमा उपचारका क्रममा ज्यान गुमाएका युवकको परिवार शव बुझ्न तयार भएको छ ।

जन्डिसको समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव बुझ्न तयार भएका हुन् ।

मृतकका परिवारलाई क्षतिपूर्ति वापत साढे १३ लाख रुपैयाँ दिने, शनिबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचार, शव परीक्षण गरेर घरसम्म पुगाउने खर्च व्यहोर्ने सहमति भएको अस्पताल स्रोतले जनाएको छ ।

मृतकका मामा फूलाराम चौधरीले पनि अस्पताले परिवारलाई क्षतिपूर्ति दिने, घाइते दुई जनाको उपचार गरिदिने र शव परीक्षणको जिम्मा लिने सहमति भएको जानकारी दिए । चौधरीले उक्त सहमतिपछि शव परीक्षणको प्रक्रिया अघि बढाइएको बताए ।

जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको थियो । सामान्य अवस्थामा अस्पताल भर्ना भएका चौधरीको स्वास्थ्य स्थिती बिग्रिदै जादा समेत अन्यत्र रेफर गरिएको थिएन ।

तर शुक्रबार अवस्था निकै बिग्रिएपछि अन्तिम समयमा अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भन्दै रेफर गरेको थियो ।

दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्र्रममा चौधरीको मृत्यु भएको थियो । त्यसपछि आफन्तले अस्पतालको लापरवाहीका कारण चौधरीको मृत्यु भएको भन्दै शव बुझ्न मानेका मानेका थिएनन् । तर अस्पतालले भने उपचारमा कुनै लापरवाही नभएको दाबी गरिरहेको थियो ।

उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आफन्तले शनिबार अस्पतालमा तोडफोड गरेका थिए ।

आक्रोशित समूहले अस्पतालमा ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिती नियन्त्रणमा लिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार