महेन्द्रनगरमा मझगाउँ विमानस्थलको ‘रनवे’ अब २५ सय मिटर

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माण हुँदैछ। विमानस्थलको रनवे एक हजार पाँच सय २५ मिटरबाट बढाएर दुई हजार पाँच सय मिटर बनाउने गरी काम भइरहेको हो।

लामो समय बन्द रहेको विमानस्थललाई सञ्चालनमा ल्याउन निर्माणको काम भइरहेको हो। ४५ करोड ६६ लाख २४ हजार सात सय १४ रुपैयाँ खर्चेर २५ सय मिटर लामो रनवेसहितका संरचना निर्माण हुनेछन्। अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले अवरोध गरेको स्थानमा डोजर लगाएर काम सुरु गरिएको छ।

गत वर्ष निकुञ्ज प्रशासनले सेना लगाएर काम अवरोध गरेको रत्न बाटिका क्षेत्रमा डोजर लगाएर पुनः काम सुचारु गरिएको हो। सोमबार विमानस्थल निर्माणको जिम्मा पाएको कान्छाराम कुमार श्रेष्ठ एन्ड कम्पनी जेभीले डोजर लगाएर एक वर्षदेखि रोकिएको काम सुरु गरेको छ।

मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्रबहादुर चन्दले निकुञ्ज प्रशासनले झन्डै तीन सय ४० मिटर लम्बाइ क्षेत्रमा नेपाली सेना लगाएर काम अवरोध गरेको बताए। अहिले निर्माण कम्पनीका डोजरमार्फत माटो भरानको काम सुरु गरिएको उनले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले भने निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा पर्ने रत्न बाटिकाको भोगाधिकारसहित इआइए गरेर काम गर्नुपर्ने जनाएको छ।

निकुञ्जका सूचना अधिकारी मनोज ऐरले भोगाधिकारविनै काम सुरु गर्न थालेपछि रोकिएको र निकुञ्ज कार्यालयले सो विषयमा रायसहित मन्त्रालय पठाएको बताए। २७ वर्ष नियमित सञ्चालन भएर २२ वर्षसम्म बन्द रहेको मझगाउँ विमानस्थल २०७८ देखि निर्माण कार्य सुरु भएको थियो। विमानस्थल २०३० सालदेखि २०५६ सालसम्म सञ्चालनमा रहे पनि सरकारले सुरक्षाको कारण देखाएर २०५६ सालदेखि २०८१ हालसम्म बन्द रहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभागले ४५ करोड ६६ लाख २४ हजार सात सय १४ रुपैयाँमा रनवेसहितका अन्य कार्यका लागि कान्छाराम केएस उमा एन्ड कम्पनी जेभीलाई ठेक्का दिएको छ। झन्डै ६६ बिघा क्षेत्रफल र १५ दशमलव २५ मिटर लम्बाइ रहेको विमानस्थल तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ। ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा विमानस्थल निर्माण हुनेछ। हालसम्म झन्डै ९६० मिटर रनवेको बेस तयार भइसकेको छ।

ताजा समाचार

सम्बन्धित समाचार