महेन्द्रनगर । विवाहको अर्थ बदलियो । पहिले विवाह भन्नासाथ दुई परिवारको मेल हुन्थ्यो । वैदिक ऋचाद्वारा वैदिक विधीले बन्धन बाधिन्थ्यो । विवाहको सम्पुर्ण विधानमा कार्यक्रम केन्द्रित हुन्थ्यो । शुद्ध एवं सात्विक भोजन हुने गर्थ्यो । घरमा आएका हरेक अतिथीको स्वागत हुन्थ्यो ।
कसले खायो कसले खाएन हेर्न कै लागि परिवारको एक सदस्य खटाईएको हुन्थ्यो । विवाहको मनोरञ्जनात्मक पाटो पहिले नि हुन्थ्यो । सामुहिकताको बलमा विवाह कार्यक्रम हुन्थ्यो भने, हरेकलाई काम बाढिन्थ्यो । अनि उक्त कामले मानिसलाई एक आपसमा जोड्थ्यो । काम गर्नेहरूलाई तामसी भोजको समेत व्यवस्था हुन्थ्यो भने, त्यसको व्यवस्था नै भिन्नै हुन्थ्यो । तर, अहिले त्यस्तो छैन ।
अहिलेको विवाहमा पैशाको तुजुक मात्र देख्न सकिन्छ । पण्डितले विधि सम्वत विवाह गराउँदा समेत हामीलाई हतार छ, यसो काटछाट गरेर सक्दिनु है भन्छन । यता विवाहको विधि काट्दै गर्दा उता फोटो सुट चै पुरै लम्बिएको हुन्छ । अबको विवाहमा पन्डित र वैदिक ऋचा होईन, फोटोग्राफर महत्त्वपूर्ण भएको छ । को आयो, को गयो, कसले खायो, कसले खाएन कसैलाई वास्ता छैन ।
हरेक कसिमको भोजन हुन्छ तर, विवाहमा अपनत्व छैन । केवल बेहुला बेहुली पक्षको धनको तुजुक मात्र देख्न सकिन्छ । एक विवाह सक्किने पैशाले अहिले । हल्दी मेहन्दीको मंचन गरिन्छ । दिनभर ब्युटिशियन बोलाएर मेकअप गरिने गरिन्छ । महंगा वस्त्र लगाएर मण्डपमा बसिन्छ । अनि कपडा माथी बाट हल्दी पानी खन्याईन्छ । ३० हजार लगाएर ४ घन्टा खर्चेर गरेको मेकअप ३ मिनेटमै स्वाहा हुन्छ ।
तर, वस्त्र लगाएर पानी खन्याउने चलन त लोग्नेको मृत्यु पछि हुन्थ्यो । तर फेसन र ढर्राले सबै संस्कृति र मान्यता समाप्त हुँदै गईरहेको छ । जब संस्कृति र मान्यता नै रूढिवादी हो भन्छौ भने, त्यही संस्कृति पालन गर्न विवाहको भद्दा नाटक मंचन किन गर्छौ । आजको विवाहमा अपनत्व हुन्न । खाना बनाउने मानिस, मण्डप सजाउने मानिस आदि सबै आयातित हुन्छन । जसले सबै कुरा सिध्याउदै गएको छ ।
वैदिक ऋचा घट्दै गएको छ । अनि विवाहको ग्लामरस पाटो र मनोरञ्जनात्मक पाटो बढ्दै गएको छ । आज विवाह भनेको खानपान, कपडा, फोटो शुट सम्पत्तिको रवाफ मै सिमित भएको छ । सायद त्यसैले होला आज विवाहको आयु नि घट्दै गईरहेको छ । समाजमा अति शिक्षित समूह र अधिकारवादको कारण भन्ने अलगाववाद तत्वले समाजमा जरो गाड्दै गई रहेको छ ।