महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालले सिटी स्क्यान सेवा सञ्चालनका लागि संघ र प्रदेश सरकारसम्म पुगेको छ । अस्पताल सिटी स्क्यान नहुँदा विरामीहरु जिल्ला बाहिर जानु बाध्य छन् ।

अस्पताल आएका विरामीलाई सेवा नभएर बाहिर पठाउनु पर्ने बाध्यता भएपछि अस्पतालले सेवा सञ्चालनका लागि पहल गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार र संघ सरकार दुबैसित सिटी स्क्यानका लागि माग गरिएको हो । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। अर्जुन भट्टले सिटी स्क्यान सेवा सञ्चालनका लागि संघ र प्रदेश सरकारसित पहल गरिएको बताए ।

‘सवारी दुर्घटना लगायतका विभिन्न रोगका विरामीको जाँच गर्न अहिले जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता छ, अस्पतालमा सेवा दिन सेवा सञ्चालनको पहल गरिएको छ’ उनले भने । महाकाली प्रादेशिक अस्पतालमा आएका विरामीहरु सिटी स्क्यानका लागि कैलालीको धनगढी जान बाध्य छन् । अस्पतालका अनुसार सिटी स्क्यान सेवाका लागि मेसिन किन्न मात्रै कम्तिमा १० करोड खर्च लाग्ने गर्छ । अस्पतालले सेवा विस्तारलाई प्राथमिकता दिएपछि सिटी स्क्यान सेवा सञ्चालनका लागि पहल गरिएको हो ।

महाकाली अञ्चल अस्पताल हुँदै केही वर्षदेखि महाकाली प्रादेशिक अस्पताल बनेको अस्पताल पछिल्लो पटक सेवा प्रवाह र भौतिक पूर्वाधारमा अनपेक्षित उपलब्धि हासिल गरेको छ । अहिले अस्पतालमा विशेषज्ञ सहित ३० जना चिकित्सक कार्यरत छन् । २०७४ अघि एक दुई जना चिकित्सकको भरमा अस्पताल सञ्चालन हुँदै आएको थियो ।
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा सेवा विस्तार अन्र्तगत सिटी स्क्यान सेवा सञ्चालनका लागि पहल गरिएको बताए । ‘यो एकदम आवश्यक छ, धनगढी जानु पर्ने बाध्यता छ, त्यस कारण सिटी स्क्यानका लागि लागि रहेका छौ’ उनले भने ।