महेन्द्रनगर । बेलडाँडीबाट झण्डै महिना दिन अघि हराएकी १६ वर्षिय बालिकाको उद्धार गरिएको छ । बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथ लगायतको सक्रियतामा भारतको हरियाणा पानिपथ भन्ने ठाउँबाट ती बालिकाको. उद्धार गरिएको हो ।

बेलडाँडी गाउँपालिका वडा नं. ५ की बालिका चैत्र २ गते देखि हराएकी थिइन । उनलाई सामाजिक सञ्जाल फेसबुकबाट कुरा गरेर आफुलाई कालागौडीकी स्थानीय बताउने हसिना राना (फेसबुक नाम) ले कामका लागि भारतमा राम्रो प्रबन्ध मिलाइदिने भन्दै गड्डाचौकी नाका हुँदै हरियाणाको पानिपथ भन्ने ठाउँ पुर्याएकी थिइन् ।

सामाजिक सञ्जाल फेसबुकमा हसिना रानाले आफैले ‘रिक्वेस्ट’ पठाएर १५ दिन सम्म लगातार कुरा गरेपछि, एउटा विवाहको कार्यक्रममा हसिनाले बाmिलकालाई भेटेकी थिइन् । भेट भएको ४–५ दिन पछि बालिकालाई राम्रो काम र कमाई हुने ठाउँमा पुर्याइदिन्छु भन्दै चैत्र ३ मा गड्डाचौकी नाका हुँदै भारतको हरियाणा पानिपथ भन्ने ठाउँको एक होटलमा पुर्याएकी थिइन् ।

ती महिलाले बालिकालाई होटलमा छोडेर निस्कन लाग्दा बालिकाले रुदै चिच्याउदै सडकमा उनकै पछि भागेपछि स्थानीय प्रहरीले बालिकालाई सोधपुछ गर्दा वृतान्त आएपछि प्रहरीले बालिकालाई त्यहिको महिला एवं बालविकास नाम संस्थामा सकुसल राखेर घर परिवारलाई खबर गरिएको जनाइएको छ ।
घरपरिवारमा खबर पनि झण्डै २० दिन पछि भएको बालिकाका बुवा बताउछन् । उनी ज्याला मजदुरी गरि घर जहान चलाउछन् । भारतको हरियाणामा छोरी रहेको खबर पाएपछि उनले गाउँपालिकाको कार्यालयलाई खबर गरेका थिए ।
बालिकाको उद्धारका लागि आवश्यक कागजात जुटाएर उपाध्यक्ष शान्ती नाथ सहितको टोली हरियाणा पानिपथ भन्ने ठाउँ पुगेर बालिकालाई राती नै छुटाई आइतबार घर पुगेका हुन् । उपाध्यक्ष नाथ संगै गौरादेवी उपाध्याय, इप्रका बेल्डाडीमा कार्यरत प्रहरी हवल्दार गणेश बोहरा, तरुणदलका नेता नरेश थापा मगर र बालिकाका बुवा समेत बालिकाको उद्धारको लागि भारतको हरियाणा पुगेका थिए ।
सामाजिक सञ्जाल फेसबुक, हवाट्सप लगायतको प्रयोग गर्दै महिला, बालबालिकाहरुलाई राम्रो काम र अर्कषक तलबको लोभ देखाएर दास्रो तथा तेस्रो मुलुकमा बेचबिखन जस्ता जघन्य अपराधका घटनाहरु बढ्दै गएका छन् ।


