रानाथारु समुदायको होली किन ३८ दिनसम्म मनाइन्छ?

प्रकाशित:

महेन्द्रनगर । रंगहरुको पर्व होली पर्व यस वर्ष औपचारिक रुपमा समापन भएसंगै पनि थप रौनकता छाएको छ । पहाडी तथा तराई मुलका समुदायको होली पर्व सकिए संगै सुदूरपश्चिम प्रदेश कैलाली र कञ्चनपुरमा रहेका रानाथारु समुदायको हाली भने शुरु भएको छ । पहाडी समुदायकोे होली सकिए लगत्तै थारु समुदायले महिनौँ होली पर्व मनाउने गरेका छन । यति बेला कञ्चनपुर र कैलालीका गाँउ गाँउमा रानाथारु समुदायको होली पर्वको रौनकता छाएको छ । दुवै जिल्लाका राना थारु समुदाय मिलेर आफ्नै परम्परागत पोषाकमा होली खेलिरहेका छन ।

वषौँदेखि चल्दै आएको संस्कृति सरक्षणका लागि रानाथारु समुदायले होली पर्व खेलिरहेको बताउछन । त्यसैगरी राना समुदायमा माघ शुल्क पूर्णिमा देखि सुरू भएको होली एक महिना ८ दिनसम्म मनाइने गरिन्छ । फागु पूर्णिमासम्म जिउँदो र त्यसपछिका ८ दिनसम्म राना समुदायमा मृत होली मनाइने गरिन्छ । ३८ दिनसम्म मनाइने राना समुदायको होली माघ पूर्णिमादेखि सुरु हुन्छ भने, रानाथारू समुदायमा दुई चरणमा होली पर्व मनाइने गरिन्छ । राना समुदायका भलमान्साले राना समुदायले पहिलो चरणअन्तर्गत माघपूर्णिमा देखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ भने, फागु पूर्णिमापछि आठ दिनसम्म मृत होली मनाउने प्रचलन रहेको बताए ।

उनले भने,’राना समुदायको मृत होली अन्य समुदायको होली समापन भएपछि सुरु हुन्छ । फागु पूर्णिमा पछि रानाथारू समुदायमा होलीको रौनक छाउँछ, उक्त ८ दिनको समयमा गाउँका महिला पुरुष, वृद्धदेखि बालकसम्म होलीमा रमाउँछन । आठ दिनसम्म जुन घरमा होली खेल्यो त्यहीँ खाना खाने र रातभरि होली खेलेर रमाइलो गर्ने उनले बताए ।’

त्यसैगरी भीमदत्त नगरपालिका–१९ बागफाँटाकी मालती रानाले रानाथारु समुदायमा ८ दिनसम्म भलमान्सा, चौकीदार र अन्य गाउँलेहरूको घरमा पालैपालो होली खेलिने बताइन । उनले भनिन,’राना समुदायमा हिरण्यकश्यपुले विष्णु भक्त छोरा प्रह्लादलाई अग्निमा नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकासँग आफ्नो काखमा राखेर जलाउने भनी आदेश दिएका थिए । होलीकालाई आगो लगाएर प्रह्लादलाई जलाउन खोजे पनि होलीका आफै जलिन भने प्रह्लादलाई आगोले केही गर्न सकेन । उक्त दिनदेखि नै असत्यमाथि सत्यको विजय भयो भनेर राना समुदायमा होली पर्व मनाउने मान्यता रहेको रानाले बताइन ।’ रानाले परम्परा अनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने बताइने ।

उनका अनुसार जुन घरमा होली खेल्यो त्यही घरमा खाना खाने र रातभर होली खेल्ने प्रचलन छ । होली दहन गरेको ठाउँमा चामल चढाएर घरपरिवारका सदस्यहरूको सुख, शान्तिको कामना सु–स्वास्थ्य र लामो आयुका लागि आर्शिवाद माग्ने चलन रहेको छ भने, रानाथारु समुदायमा महिलाहरूले घगरिया, अङिया, फतुई (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्ने गरिन्छ। केही वर्ष अगाडिसम्म ३८ दिनसम्म होली खेलिने भएता पनि पछिल्लो समययता भने होली मनाउने समय घट्न थालेको रानाको भनाइ छ ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका मनिराम डगौरा बिहानै होलीका जलाएको ठाउँबाट खरानी ल्याएर घर आए । होलीको रङ लगाउनुअघि उनले घरपरिवारलाई होलिका जलाएको खरानी देवस्थानमा चढाएर ढोग गरेपछि मात्रै उक्त खरानी सहित परिवारलाई रङ लगाइ दिएका थिए । होलिका जलाउने कार्यलाई थारू भाषामा ‘होल्का डुङ्ना’ भन्ने गरिन्छ । वर्षौँ पुरानो उक्त चलन थारू समुदायमा पुस्तान्तरण हुँदै अहिले समेत रहिआएको डगौराले बताए । उनले भने,’होल्का जलाएको खरानी घरपरिवारमा प्रसादका रूपमा लगाएपछि मात्रै रङको होली खेल्ने परम्परा थारू समुदायमा रहेको छ । जल्दै गरेको होलीकाबाट गुइँठामा आगो ल्याएर घरमा नयाँ आगो भित्र्याइएको मनिरामले बताए ।’

उनका अनुसार बिहानै बरघरको घरमा जम्मा हुन्छौ, तेल, गुड, ल्वाङ र गहुँको पिठोमा मिसाएर निरहार रहेका गाउँका एकजनालाई बम्ना (बाहुन) बनाएर एकपल्टे (एकातर्फ मात्रै पाकेको) रोटी पकाउछौँ । बेलुका गाउँको देउथानमा परम्परागत विधिअनुसार होल्का डुङ्ना गरेपछि नयाँ आगो भित्र्याएका छौँ । नयाँ आगो घरमा ल्याएपछि कुलदेवताको स्मरण गर्दै मदिरा, जल, अगरबत्तीलगायत चढाएर पूजा गरेपछि चुलोमा नयाँ आगो बाल्ने कार्य गरिएको मनिरामको भनाइ छ । उनले देउथानमा बालेको नयाँ आगो घरघरमा भित्र्याउने चलन थारू समुदायमा रहेको बताउछन ।

होलीका वेला भित्र्याइएको आगो तापेमा घरमा सुखशान्ति हुने र रोगव्याध हटेर जाने जनविश्वास रहेको उनले बताए । त्यसैगरी स्थानीय गहनु चौधरीले सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ । थारू गाउँका गुरुवा, बरघरघरियाले देउथानमा रोटी, गुडले पूजा गरी दियो बालेपछि परिक्रमा गरिने बताइन । उनले भनिन,’यसरी परिक्रमा सकेपछि उक्त थुम्कोमा आगो लगाउने गर्दछन्, आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिन्छ, आगो लगाउन आएका सबैलाई रोटी र गुड प्रसादका रूपमा बाँड्ने चलन रहेको उनले बताएकी छिन ।’

उनका अनुसार घरघरमा आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ । होलीका जलाएको ठाउँमा गाउँका महिला तथा पुरुषले लोटामा पानी लगेर उक्त ठाउँमा रहेको आगो बह्रनी (एक प्रकारको झाडु) ले निभाएर र उक्त ठाउँ सफा गर्ने गर्छन । होलीका अवसरमा गाउँका मान्यजनबाट रङको टीका लगाउने र आशीर्वाद लिने चलन समेत थारू समुदायमा रहेको उनको भनाइ छ। राना समुदायका अगुवाहरुले होली पर्वलाई पुस्तान्तरणको आवश्यकता रहेको बताएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार