धनगढी । सुदूरपश्चिममा एक लाख लिटर दुध उत्पादन भएको छ।प्रदेशका नौवटै जिल्लामा गरी गत वर्ष एक लाख लिटर दुध उत्पादन भएको हो। सबैभन्दा बढी कैलाली र सबैभन्दा कम बझाङमा दुध उत्पादन भएको हो। कैलालीमा ३५ हजार दुई सय ३० लिटर दुध उत्पादन भएको भने बझाङमा ९ सय ९० लिटर मात्र उत्पादन भएको हो। कैलालीपछि कञ्चनपुरमा दुधको उत्पादन बढी देखिएको छ।

जिल्लामा गत वर्ष २८ हजार तीन सय ५० लिटर दुध उत्पादन भएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांकले देखाएको हो। दार्चुलामा ६ हजार ६ सय ४०, बैतडीमा ६ हजार ८ सय ४०, डडेल्धुरामा चार हजार ८ सय र बाजुरामा चार हजार एक सय ८० लिटर दुध उत्पादन भएको छ। त्यस्तै डोटीमा ६ हजार ९ सय ९० तथा अछाममा चार हजार तीन सय ४० लिटर दुध उत्पादन भएको छ। प्रदेशभित्र उत्पादित दुध व्यवसायीक रुपमा विक्रीवितरण भएको हो।
किसानको पाँच करोड रुपैयाँ होल्ड
सुदूरपश्चिममा दुध उत्पादन गर्ने किसानले सहज रुपमा भुक्तानी भने पाउने गरेका छैनन्। भुक्तानी पाउन किसानले आन्दोलन नै गर्नुपर्ने परिस्थित सिर्जना भएको हो। दुध उत्पादक किसानले असोज १६ देखि माघ मसान्तसम्मको ४ करोड ६४ लाख २ हजार ४७३ रुपैयाँ र फागुन १५ गतेसम्मको पाँच करोड १० लाख भुक्तानी पाएका छैनन्।

किसानले लामो समयसम्म दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै केहि समयअघि कैलालीको अत्तरियामा प्रदर्शन नै गरिएको थियो। अखिल नेपाल किसान महासंघ र दुग्ध उत्पादक किसानले उत्पादन भएको दूध खरिद गर्नुपर्ने र बाँकी रहेको बक्यौता रकम भुक्तानी पाउनुपर्ने माग गर्दै सडकमा दूध नै पोखेर प्रदर्शन गरेको थियो।

दुग्ध विकास संस्थानले भुक्तानी नदिँदा किसानलाई समस्या भएको नायल कृषि सहकारीका सदस्य पदमराज गिरिले बताए। उनले आफ्नो सहकारीमा २९५ जना किसान आबद्ध रहेको र किसानहरूले उत्पादन गरेको दूधको मूल्य नपाएको बताए। दुग्ध विकास संस्थान, धनगढी दुग्ध वितरण आयोजना अत्तरियाका सङ्कलन शाखा प्रमुख चन्द्रमोहन लेखकले विगतमा किसानलाई महिनामा दुई पटक दूधको भुक्तानी दिने गरेको भए पनि असोज १६ बाट बजारमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री नभएकाले किसानलाई भुक्तानी दिन नसकेको बताए।
उनले हिउँदमा खपत घटेका कारण भुक्तानी दिन समस्या भएको बताए। दुग्ध विकास संस्थानले गत चैतदेखि दूधको मूल्यमा भएको वृद्धिले पनि भुक्तानीमा समस्या भएको जनाएको छ। दूधको मूल्य बढ्दा बजारमा डिडिसीको दूधको मूल्य ९० रुपैयाँ पुग्यो भने निजी डेरीले ८० रुपैयाँ प्रति लोटर दूध बिक्री गर्दा संस्थानको उत्पादन बिक्रीमा गिरावट आएको संस्थानको दाबी छ।


