धनगढी । कैलालीमा विभिन्न अपराध गरेर फरार दोषीहरु एकपछि अर्को धमाधम पक्राउ पर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले एक महिनाको अवधिमा ६५ जना फरार दोषीहरुलाई पक्राउ गरेको हो। माघ १७ देखि फागुनको तेस्रो सातासम्म ६५ जना फरार दोषीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। पक्राउ परेका ती अभियुक्तबाट ३९ लाख राजश्व असुल हुनेछ। राजश्वतर्फ सबैभन्दा बढी टीकापुर नगरपालिका–८ का रामबहादुर साउदले २० लाख ४७ हजार ७ सय ९७ हजार जरिवाना तिर्नुपर्ने देखिएको छ।

उनी राजश्व मुद्धाका फरार दोषी हुन्। उनलाई माघको २९ गते पक्राउ गरि जिल्ला अदालत कैलालीलाई बुुझाइएको छ। त्यस्तै गोदावरी नगरपालिका–१० का पदम रावत पनि पक्राउ परेका छन्। उनी बैंकिङ कसुर मुद्धाका फरार अभियुक्त हुन्। प्रहरीले उनलाई फागन १३ पक्राउ गरेको हो। चार वर्ष कैद सुनाइए पनि फरार रहेका पप्पु भनिने जाहिर खान पनि पक्राउ परेका छन्। उनी लागुऔषध मुद्धाका फरार दोषी हुन्।

लम्की–चुहा नगरपालिका–१ का भुपेश भनिने शिशिर थापा पनि पक्राउ परेका छन्। उनलाई लागुऔषध मुद्धामा ९ वर्ष ९ महिना २२ दिन कैद र एक लाख जरिवाना तोकिएको थियो। सो अवधिसम्म प्रहरीले धनगढीबाट ३०, गोदावरीबाट ११, टीकापुरबाट ७, भजनी, चुरे र लम्कीबाट ६ जना, गौरीगंगा र जानकीबाट ४ जना, जोशीपुर र घोडाघोडीबाट २ जना पक्राउ गरेको छ।

मंगलबार मात्र कैलालीबाट एकैदिन थप ६ जना फरार दोषी पक्राउ परेका छन्। चेक अनादर मुद्दामा धनगढी उपमहानगरपालिका–२ का बिष्णु माया पुजारा, वन्यजन्तुको छाला ओसारपोसार मुद्दामा धनगढी उपमहानगरपालिका–४ का गगनदेव पण्डित, गाली बेइज्जती मुद्दामा धनगढी उपमहानगरपालिका–५ का नारायण चौधरी, सोहि मुद्दामा धनगढी उपमहानगरपालिका–५ का कृष्ण चौधरी, सवारी ज्यान मुद्दामा धनगढी उपमहानगरपालिका–१६ का राजेश राना र बाल यौन दुरुपयोग मुद्दामा फरार दोषी गोदावरी नगरपालिका–५ का नवराज भट्ट पक्राउ परेका छन्।


