समुदायमा काँग्रेस अभियान जारी

प्रकाशित:

महेन्द्रनगर नेपाली काँग्रेसले मंगलबार शहीद दिवसको अवसर पारी सुरु गरेको समुदायमा काँग्रेस अभियान कञ्चनपुर जिल्लाका ९२ ओटै वडाहरूमा निरन्तर जारी रहेको छ । प्रत्येक वडाहरूमा पार्टीका प्रतिनिधिहरूको उपस्थितिमा बैठक बसी विविध गतिविधिहरू गर्ने क्रम चलिरहेको छ ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले गरिरहेका गतिविधिहरूको समीक्षा, पार्टीका आगामी कार्य योजनामाथि छलफल गर्नुका साथै वृक्षारोपण, स्वास्थ्य संस्थाहरूमा भेटिएका बिरामीहरूलाई फलफूल वितरण लगायतका कार्यक्रम समेत गरिएको नेपाली काँग्रेस कञ्चनपुरले जनाएको छ । ‘समुदायमा जाऔँ, समाजलाई सुनौँ’ भन्ने मूल नारा सहित सञ्चालन गरिएको उक्त अभियान यही माघ २६ गतेसम्म जारी रहने बताइएको छ ।

यसैबिच, समुदायमा काँग्रेस अभियान अन्तर्गत सोमबार बेलौरी नगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रमकै दौरानमा नेपाली काँग्रेसका नेता एवं किसान सङ्घ सुदूरपश्चिमका अध्यक्ष हरेन्द्र सिंह बिष्ट नेतृत्वको टोलीले महाकाली चिनी उद्योगका सञ्चालकसँग छलफल गरी उखु उत्पादक किसानहरूलाई बिउबिजनमा सहयोग गर्न र आवश्यक सहजीकरणका लागि आग्रह गरेको छ ।

त्यस क्रममा उद्योगका सञ्चालकले किसानहरूलाई उन्नत जातको बिउबिजन अहिले निःशुल्क उपलब्ध गराउने र त्यसबापतको हुन आउने रकम उखु उत्पादन भएपछि काट्ने गरी उद्योगले किसानहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको काँग्रेस नेता प्रकाशराज पन्तले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार