धनगढी । धनगढी उपमहानगरपालिकाले वडा नम्बर २ मा एक बिघा जग्गा वार्षिक ८८ हजार आठ सय ८८ रुपैयाँमा तिर्ने गरी भाडामा लिएको छ । उपमहानगरले सो जग्गामा सूक्ष्म वर्गीकरण केन्द्र स्थापना गरेको छ। १९ लाखमा उपकरण तथा संरचना निर्माण गरिएको छ।

७ लाखको घेरबारसमेत गरिएको छ। उपकरणका लागि आवश्यक विद्युत् जडान गरेर दुई जना प्राविधिकसहित १२ जनाले सूक्ष्म वर्गाीकरण केन्द्र सञ्चालनमा ल्याएका छन्। गत बैशाखबाट सञ्चालनमा आएको केन्द्रले १३ लाख ५१ हजारको फोहर बिक्रीका लागि तयार पारेको छ। धनगढी उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले फोहर बिक्रीका लागि बोलपत्र आह्वान गरिएको बताए। अवस्थीले भने, ‘२ जनाले उपकरण चलाउनुहुन्छ।

१० जना महिला हुनुहुन्छ। उहाँहरुबाटै फोहरको सूक्ष्म वर्गीकरण हुन्छ।’ उपमहानगरले बजार क्षेत्रका नौवटा वडाहरुबाट सङ्कलन गरिएको फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्रीका लागि तयार गरिएको छ। बुधवार सूक्ष्म वर्गीकरण गरिएको नकुहिने फोहर बिक्रीका लागि ३० दिनको बोलपत्रको आह्वान गरिएको छ।
