पिएम कप पुरुष क्रिकेट खेल्ने बैतडीको टोली घोषणा

प्रकाशित:

-बैतडी । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट खेल्ने बैतडीको टोली घोषणा गरिएको छ।

वसन्त खत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोगटीले जानकारी दिए।

टोलीका अन्य सदस्यहरूमा उपकप्तान ऋषिकेश बोहरा, विकेटकिपर नरेश चन्द, खडक बोहरा, गजेन्द्र बोहरा, हिक्मत महरा, प्रदीप चन्द, सुदीप टमाटा, डम्बर तिरुवा, भूपेन्द्र चन्द, सन्तोष चन्द, आयुष चन्द, नरेन भट्ट र वीरेन्द्र चन्द रहेका छन्।

यसैगरी वीरेन्द्र नाथ,लोकेश चन्द, महेन्द्र मार्कण्ड र मधुर विष्ट वैकल्पिक खेलाडीका रूपमा छनोट भएका छन्।

हालै सम्पन्न बिडिसिए कपमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए।

प्रदेशस्तरीय छनोट भोलि पुस ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुँदै छ। बैतडीको पहिलो खेल पुस १४ गते दशरथचन्द खेल मैदानमा प्लेट च्याम्पियन बन्ने टोलीसँग रहेको छ।

यो वर्षदेखि प्लेट च्याम्पियनसिप र इलिट च्याम्पियनसिप गरेर दुई चरणमा प्रदेश छनोट हुँदै छ।

प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी हुनेछन्।

गतवर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्।

प्लेट च्याम्पियनसिपको विजेता टोली इलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताए।

बैतडीमा प्लेट च्याम्पियनसिप, कैलालीमा इलिट च्याम्पियनसिपका खेलहरू हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार