धनगढी । गत ३० मंसिरमा प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको ‘चिनी उद्योग तथा किसानका समस्या समाधान उपसमिति’ ले कैलालीको लम्की चुहा नगरपालिका १० स्थित वासुलिङ सुगर मिलका अवलोकन गर्यो ।

सुदूरपश्चिममा उखु खेती तथा किसानको अवस्था, चिनीको माग र आपूर्तिको अवस्थालगायत विषयमा अध्ययन गर्न कञ्चनपुर पुगेको उपसमिति दुई दशकदेखि बन्द कैलालीको सो मिलको अवलोकनमा पुगेको हो । त्यति बेला उपसमितिका सभापति कृष्ण कुमार श्रेष्ठ किसान ले चाँडै उद्योग सञ्चालकसँग भेट गरी समस्या पहिचान गर्दै अल्झिएको गाँठो फुकाउन आवश्यक पहल गर्ने बताएका थिए । यस्तै सरकारको ध्यान समेत केन्द्रित गराउने प्रतिबद्धता उनको थियो ।

यस्तै पुस ३ गते सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पनि आफ्नो दल बलसहित मिल पुगे । लम्कीकै स्थानीय समेत रहेका मुख्यमन्त्री शाह प्रदेश सरकारले फागुनमा आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनमा मिलबारेको सवाल उठान गर्ने भन्दै फर्किए ।

तर संसदीय उपसमिति, सांसद, मन्त्री, मुख्यमन्त्रीहरूको यो अनुगमन कुनै नौलो भने होइन, चुनाव जितेर आउने हरेक जनप्रतिहरूको अनुगमनको कार्य सूचीमा पर्छ यो मिल । सबैको आश्वासन र प्रतिबद्धता उपसमिति सभापति श्रेष्ठ तथा मुख्यमन्त्री शाह जस्तै हुन्छ । तर यति ठुलो लगानीमा स्थापना भएको मिलले हालसम्म पुनर्जीवन पाउन पाउन सकेको छैन ।


