कञ्चनपुरमा रातभरि हात्ती धपाउँदै, दिउँसो संरक्षणका लागि नाटक

प्रकाशित:

कञ्चनपुर । भीमदत्त नगरपालिका–१५ गोबरियाकी गनिता नेगी रातभरि वन्यजन्तुबाट बाली जोगाउन पहरा बस्छिन् । गाउँलेलाई पनि सुरक्षित तवरले वन्यजन्तु धपाउन सघाउँछिन् ।

खेतमा वन्यजन्तु आएको थाहा पाउने बित्तिकै अरुलाई पनि जानकारी दिन्छिन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको उनको खेतमा एक सातायता नियमित रुपमा हात्ती आइरहेको छ । उनले राम्ररी सुत्न नपाएको पनि साता दिन नै भयो ।

हात्तीलगायत वन्यजन्तुले आफ्नै बालीनाली क्षति गरिरहेको छ । अझ रातमा अनिदो बस्नुपर्ने पीडा अर्कै छ । त्यसैमाथि जोखिम पनि । यी सबै कुरा बिर्सेर नेगी निकुञ्ज किनारका बासिन्दालाई वन्यजन्तु संरक्षणसँगै उनीहरुलाई बस्ती नजिक आउन नदिने उपायबारे नाटक प्रदर्शन गर्दै हिँडिरहेकी छन् । उनकै टोलका स्थानीय मिलेर यो अभियानमा जुटेका छन् ।

निकुञ्जसँग जोडिएका सबै बस्तीमा पुगेर नेगीको समूहले वन्यजन्तुबाट बच्ने र उनीहरुलाई पनि बचाउने विषयमा जनचेतना बाँड्दै हिँड्छन् । ‘निकुञ्ज किनारमा बसेपछि वन्यजन्तु त आइहाल्छन्, तर दुवैलाई सुरक्षित कसरी राख्ने भन्ने हामीले बुझ्नुपर्छ,’ गत साता बेदकोट नगरपालिका–१ हात्तीथलामा नाटक प्रदर्शन गर्ने क्रममा नेगीले भनिन्, ‘वन्यजन्तु आउने वितिक्कै आक्रोशित भएर धपाउन जाँदा जोखिम हुन्छ ।’

नाटकमार्फत वन्यजन्तु आएमा कसरी धपाउने, खेतबारीमा आउने नदिने के गर्नेलगायतका विषयमा स्थानीयलाई जानकारी दिइन्छ । वन्यजन्त धपाउन एक्दै दुक्लै जानु हुँदैन । सकभर निकुञ्जका कर्मचारीलाई खबर गर्नुपर्छ । त्यसपछि टाढैबाट थाल ठटाउने, कारपेट गन पडकाउने र आगो बाल्ने जस्ता गतिविधि गर्नुपर्छ । वन्यजन्तुलाई बस्तीतर्फ आउन नदिन उनीहरुलाई मन नपर्ने खेती लगाउनुपर्छ ।

‘उखु, केरा र धान गहुँ मात्रै लगाएर वन्यजन्तुलाई बस्तीतिर आउनबाट रोक्न सकिन्न,’ नाटक समूहका कलाकार गणेश कार्कीले भने, ‘हामीले वन्यजन्तुले नरुचाउने खेतीपाती कागती, मेन्था, अदुवा र बेसार आदिमा जोड दिनुपर्छ ।’ उनले आफ्नो बारीमा पनि बेसार र अदुवा लगाएका छन् ।

एक वर्षअघि कार्कीका बुवा दानसिंहको हात्ती धपाउँदा खुट्टा भाँचिएको थियो । खेतमा आएका हात्ती धपाउन गएका उनलाई उल्टै हात्तीले लखेटर खुट्टा भाँचिएको हो । त्यतिबेला ज्यान जोगाउनै मुस्किल भएको कार्की सम्झिन्छन् । अहिले पनि उनका बुवाको उपचार भइरहेको कार्कीले बताए । खेतमा नियमित हात्तीलगायत वन्यजन्तु आउने पीडा त छँदैछ ।

यी सबै कुरा बिर्सेर कार्की पनि दुई वर्षदेखि नाटक देखाउँदै हिँडेका छन् । वन र वन्यजन्तु संरक्षण भए मात्रै हामी पनि सुरक्षित हुन सक्छौं भन्ने कुरा उनले राम्ररी बुझेका छन् । मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक रहेको उनी बताउँछन् । यही कुरा निकुञ्ज छेउछाउका बासिन्दालाई सम्झाउन सके मानव र वन्यजन्तु बीचको द्वन्द्व कम गर्न सकिने उनको ठम्याई छ । ‘निकुञ्ज किनारका बस्तीमा वन्यजन्तु आइरहन्छन्, तर तिनलाई बस्तीमा आउने बितिक्कै मार्नु हुँदैन,’ कार्कीले भने, ‘सुरक्षित रुपमा निकुञ्जतर्फ धपाउनुपर्छ, हामी यही सन्देश बाँड्दै हिँड्छौं ।’

राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमले उनीहरुलाई नाटक देखाए वाफत खाजा खर्चको व्यवस्था गर्दै आएको छ । शुक्लाफाँटा नाट्य समूह नाम राखिएको उनको टोलीले महाकालीपारिको दोधारा चाँदनीदेखि भीमदत्त, बेदकोट, शुक्लाफाँटा नगरपालिका र बेलडाडी गाउँपालिकामा नाटक प्रदर्शन गर्दै आएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, गैंडा र हात्तीलगायत वन्यजन्तुको संख्या बढ्दो छ । यसैगरी चित्तल, बाह्रसिंगा र बँदेलको संख्या पनि बढेको छ । निकुञ्जमा वन्यजन्तुको संख्या बढेसँगै मानव(वन्यजन्तु द्वन्द्व पनि बढ्न सक्छ । अहिले पनि हात्ती, चित्तल, निल गाई र बँदेललगायतले निकुञ्ज छेउछाउका बस्तीमा निकै क्षति गरिरहेका छ । हात्तीको आत्रमणबाट मात्रै पछिल्लो ५ वर्षमा पाँच जनाको मृत्यु भइसकेको छ । चितुवाले दिनहुँ बस्तीमा पसेर बाख्रा खाइरहेको छ । ‘हामी आफ्नो दुख बिर्सेर अरुलाई जनचेतना बाँड्दै हिँडेका छौं,’ नाट्य समूहका अर्का कलाकार दिपक नेगीले भने, ‘रातभरि वन्यजन्तु धपाउने, दिनमा अरुलाई सम्झाउने ।’

उनका अनुसार ५ वर्षदेखि समूहले नाटक प्रदर्शन गर्दै आइरहेको छ । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको बथान पछिल्लो एक डेढ महिनादेखि शुक्लाफाँटामै बसिरहेको छ । १४र१५ हात्तीको बथान दिनहुँ बस्तीमा पसेर स्थानीयलाई हैरानै पारेको छ । हात्तीलाई वस्तीबाट कसरी जंगलतर्फ फर्काउने भन्ने विषय निकुञ्जकै लागि समेत चुनौतिको विषय बनेको छ । ईकान्तिपुर–भवानी भट्ट

ताजा समाचार

सम्बन्धित समाचार