करोडौं लगानी तर दर्ता प्रक्रिया अपूरै, धनगढीका दुई अस्पताल बन्द हुँदै

प्रकाशित:

महेन्द्रनगर । दर्ता प्रक्रिया पूर्ण नभएरै सञ्चानलनमा रहेका धनगढीका २ अस्पताल बुधबारबाट बन्द हुने भएका छन् ।जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार प्रहरीलाई पत्र लेखेर स्वस्तिक अस्पताल र धनगढी सञ्जिवनी अस्पताल बुधबारभित्रै बन्द गर्न निर्देशन दिएको हो ।

मंगलबार जिल्ला अनुगमन समितिको अनुगमनका क्रममा ती अस्पतालले दर्ता प्रक्रिया पूरा नगरेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको अनुगमन समितिका संयोजक तथा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

सहायक प्रजिअ जोशीका अनुसार ती अस्पतालले कम्पनी रजिष्ट्रार कार्यालय र मूल्य अभिवृद्धि करमा दर्ता गरेका भए पनि अस्पताल सञ्चालनका अनुमति दिने निकायबाट स्वीकृति नलिएको भेटिएको छ ।‘स्थानीय, प्रदेश वा संघीय सरकारको कुनै पनि निकायबाट अनुमति लिएको पाइएन’ जोशीले भने, ‘भोलिसम्म आफै बन्द नगरे प्रहरीले गर्छ ।’

१५ सय्यासम्मको अस्पताललाई स्थानीय तहले, २५ सम्मलाई प्रदेश सरकार र सोभन्दा धेरै सय्या क्षमताका अस्पताललाई नेपाल सरकारले अनुमति दिने कानुनी व्यवस्था रहेको छ ।बन्द गर्न निर्देशन दिइएका अस्पतालले स्वीकृति ल्याउनेवित्तिकै फेरि सञ्चालन गर्न भने दिइने जोशीको भनाई छ । अस्पतालहरुले २–३ दिनभित्रै अनुमति ल्याउने बताएको उनले जानकारी दिएका छन् ।बन्द गर्न लागिएका दुबै अस्पताल करोडौंको लगानीमा स्थापना भएका बताइएको ।

ताजा समाचार

सम्बन्धित समाचार