महेन्द्रनगर । कञ्चनपुरका स्वास्थ्यकर्मी हेमराज जोशीले हेल्थ अर्वाड हात पारेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका भेक्टर कन्ट्रोल निरीक्षकको रुपमा कार्यरत हेमराज जोशीले हेल्थ अवार्ड पाएका हुन् ।

सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा झण्डै तीन दशक कार्यरत जोशीलाई किटजन्य रोगको निरोध, नियन्त्रण र निवारणमा पुगाएको योगदानका लागि शुक्रबार काठमाडौंमा स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जोशीलाई अवार्ड प्रदान गरे । जोशी सहित स्वास्थ्यका क्षेत्रमा योगदान पुगाउने १३ जनालाई अवार्ड प्रदान गरिएको छ ।

३३ वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत भीमदत्त नगरपालिका १८ का जोशीले २९ वर्ष सुदूरपश्चिमको स्वास्थ्य सेवामा बिताएका छन् । यो अवधिमा जोशी आफैले पनि किटजन्य रोगका महामारी झेलेको सुनाउँछन् ।
जोशीलाई किटजन्य ती महामारी न्यूनतम क्षतिमै नियन्त्रण गर्न सफल हुनुमा उनको लगनशिलता र सक्रियताको ठूलो भूमिका भएको उल्लेख गरिएको छ ।
स्वास्थ्य खबर पत्रिकाले स्वास्थ्य मन्त्रालयको साझेदारीमा हरेक वर्ष हेल्थ अवार्ड प्रदान गर्दै आएको छ । यस वर्षको अवार्ड ‘दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहेको छ ।