महेन्द्रनगर । स्थानीय व्यवापारीहरुले महेन्द्रनगरको केन्द्र स्थानीय मदनचोकबाट राजमार्गतर्फ जाने बाटो बन्द गरिदिएका छन् ।

महेन्द्रनगरको बजार क्षेत्रका अन्य सडकको निर्माण लगभग पूरा भइसके पनि नगरको मुख्य चोक अलपत्र परेको छ । चोक अलपत्र बनेपछि पानी जम्ने, ढुंगा उछिट्टिएर सटरहरुमा लाग्ने भएपछि आफूहरुले बसपार्कतर्फ जाने बाटो बन्द गरिदिएको स्थानीय व्यापारी भूवन जोशीले बताए ।

आक्रोशित व्यापारीले बन्दको अवज्ञा गर्ने केही मोटरसाइकल चालकमाथि हातपात पनि गरेका छन् ।भीमदत्त नगरपालिकाको ४ नम्बर वडाका अध्यक्ष सुशिल भट्टले सडकका ढुंगा हटाउन गरेको अनुरोधको वास्ता नगरेपछि सडक नै बन्द गर्न बाध्य हुनुपरेको व्यापारीहरुको कथन छ ।

व्यापारीहरुले सडकमा डोरीको अवरोध लगाएर त्यसमा वडाअध्यक्ष भट्टको फोटो टाँसेका छन् । सडकलाई पानी नजम्ने र ढुंगा नउछिट्टिने बनाए मात्रै अवरोध हटाउने जोशीलगायतका व्यापारीको भनाई छ ।एसियाली विकास बैंक ९एडिबी० सहयोगको सडक निर्माण आयोजनाले नगरका अन्य सडकको निर्माण लगभग गरिसके पनि मदनचोकलाई भने छोडेको छ ।
सडक निर्माणमा अवरोध बनेका भीमदत्त नगर विकास समितिको स्वामित्वका २२ सटर भत्काउन नगरपालिकाले आनाकानी गरेपछि एडिबीले मदनचोकलाई छोडेको हो ।