कोरोना भाइरसका यस्ता छन् सकारात्मक देन

एजेन्सी । कोरोना भाइरसले संसार नै महामारीको रुप लिएको छ । कयौँ मुलुकमा संक्रमण फैलि सकेको अवस्था रहेको हो । संक्रमण अझ बढी फैलिन नदिनका लागि ‘लकडाउन’ घोषणा गरेका छन् । हजारौँ मानिस क्वारेन्टाइनमा छन् । कयौँको रोजगारी गुमेको छ ।

 कोरोनाका कारण विश्वकै कयौँ मुलुकमा नागरिकको सामाजिक स्वतन्त्रता लगभग खोसिएको छ । यी सब परिस्थितिका बीच पनि कोरोना संक्रमणका कारण विश्वलाई केही सकारात्मक प्रतिफल प्राप्त भइरहेको छ ।

प्रदूषणमा कमी

कोरोनाभाइरसका कारण कयौँ मुलुक ‘लकडाउन’ को अवस्थामा छन् । परिणामस्वरुप प्रदूषणको स्तरमा निकै कमी आएको छ । चीन र इटालीमा वायु प्रदूषणको गम्भीर कारक मानिएको नाइट्रोजन डाइअक्साइडमा निकै कमी आएको छ । औद्योगिक कारखाना बन्द भएका र सडकमा कारको संख्यामा कमी आएसँगै प्रदूषण घटेको हो । न्यूयोर्कमा कयौँ अनुसन्धानकर्ताले जनाएअनुसार गत वर्षको तुलनामा यो वर्ष कार्बन मोनोअक्साइडमा ५० प्रतिशत कमी आएको छ । मुख्यगरी कार्बन मोनोअक्साइड कारबाट निस्किन्छ ।

हवाई यात्रामा पनि कयौँ मुलुकमा रोक लगाइएको छ । ठूलो संख्यामा उडानहरु रद्द गरिएका छन् । लाखौँ मानिस घरबाटै काम गरिरहेका छन् । आगामी समयमा विश्वका सबैजसो मुलुकले यो स्थितिलाई अपनाउने अपेक्षा गरिएको छ ।
यसका साथै पृथ्वीलाई तातो बनाउने कार्बन डाइअक्साइड ग्यासमा उत्साहप्रद कमी आएको छ ।

पानीको गुणस्तर

कोरोना प्रभावित भेनिस सहरको पानीको गुणस्तरमा निकै सुधार आएको छ । स्थानीय बासिन्दाका अनुसार सहरको नहरमा बग्ने पानीको गुणस्तर सुध्रिएको हो । कोरोनाभाइरसका कारण उत्तरी इटालीको यो लोकप्रिय पर्यटकीय गन्तव्यको सडक अहिले पुरै खाली देखिन्छ । पर्यटक नआएका कारण ‘वाटर ट्राफिक’ मा कमी आएको छ । परिणामस्वरुप पानी सफा भएको हो । सफा पानीका कारण नहरमा रहेका माछासमेत देख्न थालिएको स्थानीयबासीको भनाइ छ ।

उदारता

कोरोनाभाइरसका कारण कयौँ मुलुक पूर्णरुपमा बन्द भएका छन् । केही मुलुक यस प्रकारको बन्दको तयारीमा छन् ।
घरमा कहिलेसम्म थुनिएर बस्नुपर्ने हो भन्ने टुङ्गो नभएका कारण मानिसहरु खाद्यान्न लगायत अत्यावश्यक वस्तु खरिद गरेर भण्डार गर्न थालेका छन् । जसका कारण बजारमा कृत्रिम अभाव सिर्जना हुन थालेको छ । यसबीचमा पनि सुखद् अनुभूति देख्न पाइएको छ । उदाहरणका लागि न्यूयोर्कलाई लिन सकिन्छ ।

समाचार एजेन्सीहरुका अनुसार न्यूयोर्कमा दुई जनाले ७२ घण्टाभित्रै एक हजार तीनसय स्वयंसेवक तयार पारेका छन्, जसले सहरमा वृद्धवृद्धा तथा सहयोगापेक्षीलाई घरेलु सामान तथा औषधि घरमै लगिदिन्छन् । सामाजिक सञ्जाल फेसबुकका अनुसार बेलायतमा हजारौँ मानिस एउटा समूहमा आवद्ध भएका छन्, जो कोरोनाभाइरस विरुद्ध जनचेतनाका लागि बनाइएको हो ।

यस्तो फेसबुक समूह क्यानाडामा पनि बनाइएको छ । यस्तो समूहले फेसबुकमा सकारात्मक सन्देश प्रवाह गर्दछ ।
अस्ट्रेलियाको सुपरमार्केटमा वृद्धवृद्धाका लागि खरिद समय निर्धारण गरिएको छ । उनीहरुका लागि छुट्याइएको समयमा अन्य ग्राहकलाई सेवा बन्द गरिएको हुन्छ । परिणामस्वरुप वृद्धवृद्धा तथा अशक्तले सहज रुपमा सुपरमार्केटमा पहुँच राख्न थालेका छन् ।

कयौँले कोरोना संक्रमण सामना गर्नका लागि चन्दा दिन थालेका छन् । केहीले आइसोलेसनमा रहेका वृद्धवृद्धाका लागि खाना लगायतका आवश्यक वस्तु सहयोग गरेका छन् भने कसैले उनीहरुको आत्मबल बढाउन थालेका छन् । केहीले आफ्नो व्यवसायलाई नै परिवर्तन गरेर कोरोना संक्रमणविरुद्ध आवश्यक सामान उत्पादन गर्न थालेका छन् ।

एकजुट हुँदै मानिस

कार्यालय तथा घरको भागदौडबीच मानिसहरु आफन्तबाट केही टाढिएजस्तो देखिन्थ्यो । कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि मानिसहरु आफ्नो घरमै सीमित हुन थालेका छन् । जसका कारण विश्वका लाखौँ मानिस आफ्नो परिवारको निकट रहन पाएका छन् । इटालीमा पूर्ण रुपमा सहर बन्द भएका छन् । यस्तो अवस्थामा त्यहाँका बासिन्दा आफ्नो घरको कौसीमा आएर एक अर्काको हौसला बढाउन थालेका छन् ।

एउटा घरको कौसीबाट अर्को घरको कौसीमा सम्पर्क बढ्न थालेको छ । टोलका सबैजसो घरका कौसीमा बसेर स्थानीयबासी गीत गाउने तथा प्रार्थना गर्दछन्, जसले एक अर्काको हौसला बढाइरहेको हुन्छ । धेरैजसो मानिस यतिबेला आफ्ना मित्रहरु, परिवार र आफन्तलाई फोन तथा भिडियो कलमार्फत कुरा गरिरहेका पाइन्छन् । यतिमात्र होइन, मानिसहरु मोबाइल एप्सका माध्यमले भर्चुअल पार्टी पनि गरिरहेका हुन्छन् ।

यो भाइरसको प्रकोपले स्वास्थ्यकर्मीहरु तथा तमाम अत्यावश्यक सेवामा काम गर्नेहरुको महत्वलाई पनि दर्शाएको छ । युरोपमा हजारौँ मानिस आफ्नो घरको कौसी तथा छतमा बसेर चिकित्सक तथा स्वास्थ्यकर्मीको हौसला बढाइरहेका छन् ।
लन्डनका धेरैजसो मेडिकल स्टुडेन्टहरु स्वास्थ्य सेवामा योगदान गर्नका लागि स्वयंसेवकका रुपमा खटिएका छन् ।

रचनात्मक क्षमतामा वृद्धि

कोरोना संक्रमणबाट जोगिनका लागि घरमा बस्न थालेपछि मानिसहरु आफ्नो रचनात्मक क्षमता देखाउन थालेका छन् । सामाजिक सञ्जालमा कयौँ मानिसले आफ्नो रुचीअनुसारको पुस्तक पढ्ने, पेन्टिङ गर्ने, कथा–कविता तथा निवन्धहरु लेख्ने गरेको अनुभव बाँडेका छन् । वासिङ्टनको एउटा सार्वजनिक पुस्तकालयले भर्चुअल बुक क्लव गठन गरेको छ । इटालीको चर्चित शेफले इन्स्टाग्राममा एउटा खास शृङ्खला सुरु गरेका छन्, जसलाई ‘किचेन क्वारेन्टाइन’ भनिएको छ । यसमा मानिसहरुले विभिन्न परिकार बनाउने कला सिक्दैछन् ।

अमेरिकाको टेनेसीमा एक आर्ट शिक्षकले स्कुल बन्द भएर घरमा बसेका बालबालिकाका लागि लाइभ स्ट्रिमिङ कक्षा सञ्चालन गरेका छन् । धेरैजसो सार्वजनिक स्थल बन्द भएका कारण मानिसहरु अनलाइनमा केन्द्रित भएका छन् । यसबाट कयौँले विभिन्न जानकारी हासिल गर्न थालेका छन् ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...