बाँकेको एक चप्पल कारखानामा आगलागी, लाखौंको क्षति

बाँके । बाँकेको एक चप्पल कारखानामा आगलागी भएको छ । उक्त आगलागीमा परी एक जना गम्भीर घाइते भएका छन् ।
बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा मंगलबार राति करिब १२ बजेतिर लागेको आगोमा जल्दा त्यहाँ कार्यरत कामदार दिलीपकुमार चमार गम्भीर घाइते भएका छन् ।

शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई उपचारका लागि भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगलागी बुधबार बिहान ८ बजेमात्रै पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

आगलागीबाट उद्योगको कच्चा पदार्थ र उत्पादित सबैजसो सामग्री नष्ट भएको छ । बाँके र बर्दियाका छ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको निरन्तरताको प्रयासले आठ घण्टापछि मात्रै आगो नियन्त्रणमा लिइएको थियो ।