कञ्चनपरमा माछापालनबाट जनप्रतिनिधिको आम्दानी बार्षीक २० लाख

DCIM100MEDIADJI_0101.JPG

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१६ का गोपालसिंह कार्की माछापालनबाट वार्षिक करिब २० लाख रुपैयाँ आम्दानी गर्छन्। उनले पाँच बिघा १० कठ्ठा जग्गामा नौवटा पोखरी निर्माण गरी माछापालन गर्दै आएका छन्।

कार्कीको पोखरीमा रोहु, नैनी, कमन, ग्रास, भ्याकुर, विगेट र पंगासिस जातका माछा पालिएका छन् । सात वर्षअघिदेखि माछापालन गर्दै उनको पोखरीमा वार्षिक ३०० क्विन्टल माछा उत्पादन हुने गरेको छ ।

उत्पादित माछा स्थानीय बजारसँगै डडेल्धुरालगायतका जिल्लामा खपत हुने गरेको वडाध्यक्ष कार्कीले बताए । कार्कीको माछा फार्ममा चारजनाले रोजगारी पाएका छन् । वडा नम्बर १६ का अध्यक्ष सुरेन्द्र विष्ट पनि माछा पालन गर्छन् ।

१५ कठ्ठा जग्गामा पोखरी निर्माण गरी चार हजार भुरा हालेको अध्यक्ष विष्टले बताए । ‘गत वर्ष दुई क्विन्टल माछा बिक्री गरेको थिएँ,’ उनले भने, ‘यस वर्ष पोखरीमा भुरा बढी लगाएकाले उत्पादन बढ्छ ।’ वडाका नौजना किसान व्यावसायिक माछापालनमा लागेका छन् ।

नगरपालिकाले माछापालनका लागि पोखरी निर्माण गर्ने किसानलाई प्रतिकठ्ठा १० हजार रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरेको छ। थोरै मिहिनेतमा माछापालनबाट गतिलो आम्दानी हुने भएपछि माछापालनमा लागेको स्थानीय किसान देवराज कलौनीले बताए ।

‘खेती गरेर थोरै आम्दानी हुन्थ्यो,’ उनले भने, ‘माछापालनबाट खेतीभन्दा दश गुणा बढी आम्दानी हुँदै आएको छ।’ माछा उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउन योजना निर्माण भइरहेको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । माछाका भुरा, औजार र पोखरी निर्माणलगायतमा अनुदानको व्यवस्था गरेको उनले बताए ।