सिंहदरवारमा हलो बुझाउने दार्चुलाका ६१ वर्षिया दानीराम, जसले अझै लड्न बाँकी छ !

डोटी । खैरो रङ्गको कोट, कोटभित्र त्यस्तै रङ्गको स्वीटर, घाँटीमा गलबन्दी, आँखामा कालो फ्रेमको मोटो सिसासहितको चश्मा, टाउकोमा ढाकाटोपी । दार्चुला निवासी दानीराम तिरुवाको पहिचान यति मात्र होइन । उनको पहिचान १८ हजार ५९ हलिया मुक्त गराउने एक योद्धाका रुपमा स्थापित भएको छ ।

नेताहरुले ‘देवघाट जाने उमेर’ तोक्दै गर्दा ६१ वर्षीय दानीरामको जिजीविषाको लडाइँ अझै मैझारो भएको छैन ।
दार्चुलाको साविकको उखु गाउँविकास समिति (हालको मालिकार्जुन गाउँपालिका) का दानीरामले १२ बर्षको उमेरदेखि हलो जोत्न सुरु गरे । उनले लगातार ३६ बर्ष हलो जोते । एउटै मालिकको घरमा उनले १७ बर्ष हलो जोते ।
मालिकबाट लिएको नौ हजार रुपैयाँ ऋण १७ बर्षसम्म पनि चुक्ता भएन । साँवा बाँकी रहने, ब्याज बापत हलो जोत्नुपर्ने शर्त थियो ।

‘बिहान ६ बजे खेतबारीमा जान्थेँ, साँझ ६ बजे घर फर्किन्थें’ दानीराम भन्छन् ‘दिनभरि काम गरेपछि साँझ मालिकले चारमाना अन्न दिनुहुन्थ्यो, त्यसैले परिवारको चुलो बल्थ्यो ।’
दानीराम मात्रै होइन, सुदूरपश्चिम तथा मध्यपश्चिमका १२ जिल्लाका हजारौं दानीरामहरु यस्तै समस्या झेल्दै थिए । तर, यो समस्या साझा सवाल हो भन्ने कसैले पनि ठम्याएका थिएनन् । साहुबाट सानोतिनो ऋण लिएर पुस्तौंसम्म ब्याज वापत हलो जोत्दै आएका हलियाहरुलाई पीडा त थियो, तर उनीहरु यसलाई आफ्नो मजबुरी वा नियति सम्झन्थे ।

कसरी भयो सवालको सुरुवात ?
२०५९ साल कात्तिकको महिना थियो, दानीराम मालिकको खेत जोतेर लखतरान भई बाटोमा बसेका थिए । त्यसै क्रममा दुईजना गैससकर्मीले जातीय छुवाछुतविरुद्धको अभियान चलाउने भन्दै दानीरामसँग गफ गर्न सुरु गरे । एक त दिनभरि हलो जोतेर थाकेको शरीर, त्यसैमा बर्षौदेखि सुन्दै आएको जातीय छुवाछुतको नारा, उनलाई सुन्न मन थिएन । आगन्तुकहरुले एकोहोरो कुरा सुनाउँदै गरेपछि आक्रामक भए दानीराम ।

उनको सवाल ‘हलिया’ थियो । उनी आफू र आफू जस्तै गाउँका अन्य दाजुभाइहरुलाई हलिया श्रमबाट मुक्त गर्न चाहान्थे । आक्रोश पोख्दै उनले भने ‘म करीव चार दशकदेखि हलो जोत्दैछु, मेरा बुवाले हलो जोतेको मैले देखेको छु, मेरा बाजे पनि हलो जोत्थे रे । बुवाले लिएको ऋणमा मैलेसमेत हलो जोतें, त्यति गरेर पनि चुक्ता भएन, अर्को मालिकबाट ऋण लिएर बुवाले लिएको ऋण तिरें । मैले फेरि अर्को मालिककोमा काम गरेँ ।’

दानीरामले पछिल्लोपटक आफुले ९ हजार रुपैयाँ ऋणको व्याजमा १७ बर्ष एउटै व्यक्तिकोमा काम गरिरहेको सुनाएपछि गैससकर्मीहरुलाई पनि यस विषयम चासो बढेछ । दोस्रो दिन आयोजना गरिएको गाविसस्तरीय जातीय छुवाछुत सम्वन्धी अभिमुखीकरण गोष्ठीमा औपचारिकरुपमा दानीरामको सवालले प्रवेश पायो ।त्यसपछि दानीराम हलिया मुक्तिको अभियानमा लागे ।

पहिलो मुक्ति दानीरामले पाए

त्यो गोष्ठीले दानीराममा आफ्नो सवाल उठान गर्ने हिम्मत जुटायो । उनले आफ्ना मालिकलाई अबदेखि ऋणको ब्याजमा हलो नजोत्ने बताए ।
मालिकले उनको कुरालाई सहज रुपमा लिँदै उनले लिएको ऋण मिनाहा गरिदिए । त्यसपछि उनी हलिया मुक्तिको अभियानमा लागे ।

हलियाहरुलाई उस्काएको भन्दै उनलाई अरु हलियाका मालिकहरुले धम्की दिए । द्वन्द्वको समयमा उनलाई माओवादीको आरोपसमेत लगाइयो । स्थानीयले उनलाई माओवादी र उनका मालिकलाई माओवादीलाई सहयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा उजुरी दिए ।

“माओवादी भनेर आरोप लागेपछि म भागेर दिल्ली गएँ’ त्यतिबेलाको घटना सम्झँदै दानीराम अहिले पनि झसङ्ग हुन्छन् ‘घरमा श्रीमती बिरामी थिइन्, एक छोरा अपाङ्ग थिए, सबै छोडेर ज्यान बचाउन भागें ।’

त्यसबेला दानीरामलाई साथ दिए उनका मालिकले । तत्कालीन शाही नेपाली सेनामा कार्यरत उनका मालिकले दानीराम माओवादी नभएको र उनले कुनै चन्दा नउठाएको भन्दै प्रशासनमा वयान दिए ।
दानीरामको नेपाल फर्किने बाटो खुल्यो । उनी फेरि हलिया मुक्ति आन्दोलनमा अझ सशक्त भएर लागे ।

आफ्नो सवालप्रति अडिक बुढो शरीरलाई साथ दिए बैतडीका जोसिला युवा राजु भुलले । सानै उमेरदेखि हलो जोत्दै आए राजुको जोश र दानीरामको दृढताले सुदुरपश्चिमका सबै जिल्लामा अभियान सञ्चालन भयो । उनीहरुको त्यो अधिकारमुखी आन्दोलनलाई केही संघसंस्थाले पनि साथ दिए ।

हलो बुझाउनेदेखि सर्वोच्चसम्म
२०६२ साल असारमा महिना एकातिर खेतीपाती लगाउने चटारो, अर्को्तिर देश चरम द्वन्द्वमा । दानीरामले आँट गरे–सरकारलाई हलो बुझाउने ।
तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष कीर्ति्निधि बिष्टलाई हलो बुझाउने भन्दै ८० जना हलियाहरुको टोली काठमाण्डौंका लागि हिँड्यो । नेतृत्वकर्ता उनै दानीराम थिएँ, हलो काँधमा बोक्दै अगाडि लागेका दानीरामलाई पछ्याउँदै थिए अर्को हलो बोक्दै राजु ।

‘सेनाले चेक गर्ने ठाउँमा बसबाट टाढै उत्रेर हिँड्नु पथ्र्यो, मैले बसबाट उत्रिँदा हलोसमेत बोकेर जान्थें । दानीराम भन्छन् ‘धेरै समस्या भयो बाटोमा जाँदा । तर, लक्ष्य लिएपछि पूरा हुने रहेछ ।’

उनी सिंहदरबार पुगेर कीर्तिनिधि बिष्टलाई हलो बुझाउन सफल भएको बताउँछन् । हलोसँगै मुक्त हलियाहरुले १५० मिटरको कपडामा हलिया मुक्ति आन्दोलनको पक्षमा गरिएको हस्ताक्षर पनि बुझाए ।

त्यतिले मात्रै पुगेन । दानीरामले हलियाहरु मुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा समेत मुद्दा दायर गरे । उनको मुद्दामा सर्वोच्चले हलिया मुक्त गर्नु भन्दै सरकारका नाममा आदेश जारी र्गयो । सर्वोच्चको आदेश र हलियाहरुको निरन्तर आन्दोलनका कारण ०६५ साल भाद्र २१ गते न्यायिक पुनस्र्थापनाको ग्यारेण्टीसहित हलिया मुक्तको घोषणा गर्न सरकार बाध्य भयो ।

सरकारी घोषणापछि सुदूरपश्चिम र मध्यपश्चिमका १८ हजार ६९ हलियाहरु मुक्त भए ।

प्रमाणपत्र पाएको दिन धेरै खुशी भएँ
दार्चुलाको उखु गाविसदेखि काठमाण्डौंको माइतीघर मण्डलासम्म ६ बर्ष लगातार आन्दोलन गरेका दानीरामलाई सरकारले मुक्तिको घोषणा गर्दासमेत विश्वास थिएन । आन्दोलनका क्रममा सरकारबाट पटक–पटक आश्वासन पाएर पनि कुनै परिवर्तन भएको नदेखेका उनी सरकारले मुक्तिको घोषणा गरेर आन्दोलन तुहाउन खोजेको शंका गर्दै थिए ।
जब मुक्त हलियाहरुको तथ्याङ्क संकलन हुन थाल्यो, तब दानीरामलाई आश पलायो ।

‘तथ्याङ्क लिन गाउँगाउँमा मान्छे आएपछि अब केही हुन्छ कि भन्ने लागेको थियो’ दानीराम भन्छन् ‘जुन दिन परिचय पत्र वितरण भयो, त्यो दिन मेरा लागि जीवनको सबैभन्दा खुशीको दिन थियो ।’

आफूले उठान गरेको सवाललाई विश्वास गरेर साथ दिने मुक्त हलियाहरुले केही नभए पनि पहिचान त पाए भन्ने सोचेर खुशी भएका थिए उनी । ‘क’ वर्गको (घर जग्गा केही नभएको) परिचय पत्र पाएका उनी सम्झन्छन् ‘त्यो दिन मैले धेरै आँशु बगाएँ । तर, त्यो खुशीको आँशु थियो ।’

अहिले खुसी छैनन् दानीराम
दानीरामले भनेको जस्तो हलिया मुक्तिको घोषणा पनि भइसकेको छ । मुक्त हलियाले परिचय पत्र पाई पुनस्र्थापनाको सरकारी प्याकेजसमेत पाएका छन् । तर, परिचय पत्र पाएको दिन जीवनकै सबैभन्दा खुशीको दिन मान्ने दानीराम अचेल त्यति खुशी देखिन्नन् ।

दुःखको पहिलो कारण दानीरामलाई हलियाका नाममा आएको सरकारी श्रोत दुरुपयोग भएकोमा पीर लागेको छ । पुनस्र्थापनाका लागि रकम लैजाने तर आफैंले बस्ने घरलाई ‘खोर’ जस्तो बनाएको देख्दा उनको मन रुन्छ । उनी भन्छन् ‘हामीले यति ठूलो लडाई लडेर मुक्तिपछि पुनस्र्थापनाको चरणमा पुगिसकेका बेला यस्ता समाचार आउनुले म आफैंलाई कता–कता आफूले गरेको आन्दोलनप्रति नै अविश्वास लागिरहेको छ ।

दुःखको दोस्रो कारण तथ्यांक लिन छुटेका मुक्त हलियाहरुको तथ्याङ्क लिन सरकारले गरिरहेको आनाकानीप्रति पनि चिन्तित छन् दानीराम । उनी भन्छन् ‘गैरहलियाहरुले पनि क वर्गको परिचय पत्र पाएको सुनन्छि । तर, जो वास्तविक हलिया हुन् उनीहरुको तथ्यांक छैन ।’
दानीराम हलियाको परिचयपत्र छानविन हुनुपर्ने माग राख्छन् ।

दुःखको तेस्रो कारण स् हलिया मुक्ति आन्दोलनका अगुवाहरु आपसमै लडेकोप्रति पनि दानीराम दुःखी छन् । ‘सुरुमा हामीले क्षेत्रीय हलिया मुक्ति समाज भनेर गठन गरेका थियौं, त्यसको संयोजक म नै थिएँ’ उनी भन्छन् ‘पछि हामीले जिल्ला–जिल्लामा संस्था बनाउने र १२ वटै जिल्लामा हलिया मुक्ति समाज महासंघ बनाउने निधो र्गयौं र सोहीअनुसार अभियान अगाडि बढायौं ।’ तर, अहिले व्यक्तिगत स्वार्थका लागि नयाँ–नयाँ संगठनहरु खुल्दैछन् भन्ने सुन्छु ।

मुक्त हलिया आन्दोलनमा बाँकी कार्यहरु सम्पन्न गर्नका लागि एक ठाउँमा बसेर छलफल गर्न नसक्नु अगुवाहरुको मूर्खता भएको दानीराम बताउँछन् ।

र, उनी छुट मुक्त हलियाको तथ्यांक संकलनका लागि फेरि सशक्त आन्दोलन आवश्यक भएको ठान्छन् ।
दानीराम एक अथक योद्धा हुन्, जसले देशमा गणतन्त्र आइसक्दा पनि वृद्धभत्ता खाने उमेरमा अझै लड्न बाँकी छ ।अनलाईन खवर

ताजा खबर

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...

लिटिलवुद्ध एकेडेमी मनायोे १४ (औ )वार्षीक उत्सव

ऐश्वर्या कुवर ।महेन्द्रनगर । कञ्चनपुरको भिनपा ४ मा अवस्थित लिटिलवुद्ध एकेडेमीले आफ्नो १४ (औ...