ऐतिहासिक अमरगढी किल्ला जीर्ण

सुदूरपश्चिमको ऐतिहासिक अमरगढी किल्ला जीर्ण बन्दै गएको छ । पर्यटन वर्ष २०२० का लागि सरकारले घोषणा गरेका सय पर्यटकीय गन्तव्यमा परेको डडेल्धुराको अमरगढी किल्ला जीर्ण बन्दै गएको हो ।

द्वन्द्वकालमा नेपाली सेनाको कब्जामा रहेको अमरगढी किल्लामा अहिले सेनाले छोडेका छन् । सेनाले छाडेपछि किल्लाको मर्मत हुन सकेको छैन । गत वर्ष पुरातत्व विभागबाट किल्ला पुनर्निर्माण र मर्मतका लागि २५ लाख रुपैयाँ आएको थियो । तर, सो बजेटबाट किल्ला मर्मत भएन ।

 

अमरगढी किल्ला

बाहिरी सजावटमै उक्त रकम खर्च भएको थियो । अमरगढी किल्ला विकास समितिले किल्लाको रेखदेख, मर्मत सम्भारलगायत जिम्मेवारी पाए पनि मर्मत तथा सुधार भने हुन सकेको छैन ।

अमरगढी नगरपालिका यही किल्लाको नामबाट ०५४ सालमा नामकरण गरिएको हो । नगरपालिकाको स्थापनापछि ०५६ सालमा किल्लालाई आफ्नो मातहतमा ल्याएको थियो । तर, ०५८ सालमा तत्कालीन माओवादी द्वन्द्वका वेला जिल्लालाई सुरक्षा दिन यो किल्ला सेनाले ओगटेको थियो । त्यसपछि किल्ला पर्यटकका लागि प्रतिबन्ध लगाइएको थियो । ०५८ सालदेखि ०६६ सालसम्म किल्ला सेना मातहतमा रह्यो । स्थानीयको पटक–पटकको प्रयासपछि ०६६ साल पुसदेखि अमरगढी नगरपालिकाले रेखदेख र सञ्चालन गर्ने जिम्मा पाएको हो ।

नगरपालिका मातहत आए पनि यस किल्लामा निर्धक्क भएर पर्यटक जाने वातावरण अझै बनेको छैन । पर्यटकका लागि प्रवेश खुला गरिए पनि फोटो खिच्न भने ०६९ सालबाट मात्रै स्वीकृति दिइएको हो ।

किल्लाभित्र रहेको ऐतिहासिक हातहतियार तथा तत्कालीन युद्धरत सैनिकका पोसाक राख्न र प्रचार गर्न जरुरी रहेको स्थानीय सुरेश थापाले बताए । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अमरगढी नगरपालिकाले नगरभित्रकाका मुख्य पर्यटकीयस्थलको प्रचारका लागि चार लाख ५० हजार रुपैयाँ विनियोजन गरेको अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझाले जानकारी दिए ।

अमरगढी किल्ला

डडेल्धुराको अगरगढी नगरपालिका–५ खलंगास्थित अमरगढी किल्ला बडाकाजी अमरसिंह थापाले निर्माण गरेको इतिहास छ । किल्लामा ठूला ढुंगा प्रयोग गरिएकाले कलात्मक छ । पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए । तत्कालीन राजा रणबहादुर शाहको शासनकालमा नेपालको सीमा भारतको कुमाउ गढवालसम्म पुगेको थियो ।

एकीकरण अभियानका वेला ३१ भदौमा सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली र डोटेली फौजबीच युद्ध भएको थियो । डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भू–भागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए ।

थापाले आफू नियुक्त भएपछि यस क्षेत्रको संरक्षण तथा महाकालीपारि पश्चिम काकँडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएको इतिहासमा उल्लेख छ । नेपाल एकीकरणका वेला बडाकाजी अमरसिंह थापाले डोटेली राज्यको डडेल्धुरालाई आधार क्षेत्र बनाएर कुमाउ गडवालसम्म युद्ध लडेको स्थानीय ६५ वर्षीय उमा श्रेष्ठले बताइन् । २०२० सालपछि यो किल्लामा गोरख दल बसेर हेरचाह गर्दै आएको उनले बताइन् । ‘सेना बसेका वेला सरसफाइदेखि किल्लाको हेरचाह र महŒव पनि थियो । अहिले त मान्छे आउँछन् जान्छन् । समितिले मतलब गर्दैन ।