भारतीय अवरोधले बर्षौ बित्दा पनि बनेनन् कञ्चनपुरका यी सडक

जिमुवा, गड्डाचौकी तथा दक्षिणी र पुर्वी सीमा रेखामा कालोपत्रे गर्न दिएको छैन । वडा कार्यालयले सीमाको सडकमा कालोपत्रे गर्ने योजना बनाएपनि भारतीय पक्षले गर्न नदिने भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रेमप्रकाश जैसीले बताए ।

महेन्द्रनगर । भारतसंग जोडिएका कञ्चनपुरका विभिन्न सीमारेखामा भारतीय पक्षकोे अवरोधले विकासका गतिविधि प्रभावित पारिदिएको छ ।

कञ्चनपुरको पश्चिमी सीमारेखा देखि दक्षिणी तथा पुर्वी सीमारेखामा भारतीय पक्षको दादागिरीले विकासका गतिविधि प्रभावित पारेको छ । सीमामा नेपालीलाई दुःख दिने गरेको गुनासोकाबीच भारतीयहरुले विकास निर्माणका कार्यमा समेत अवरोध सृजना गर्न थालेका छन् ।

सीमारेखामा पर्ने नेपाली भू–भागमा समेत विभिन्न बहाना झिकेर विकास निर्माणका गतिविधिहरु सञ्चालन गर्न नदिएको स्थानीय तहहरुले जनाएका छन् ।
तर नेपाली पक्षले भने भारतीय पक्षबाट हुने ज्यादती रोक्न कुनै कदम नै चाल्न नसकेको स्थानीयहरुको भनाइ छ ।

यहाँ सुरक्षा सयन्त्रका प्रमुख समेत देखावटी रुपमा बोेल्ने मात्रै तर खरो रुपमा भारतीय पक्षलाई खबरदारी गर्न नसकेको स्थानीयको गुनासो रहेको छ । जिल्लाका विभिन्न सीमारेखामा जमीन अतिक्रमण र नेपालीमाथीको दुव्र्यवहारको गुनासोकाबीच सीमामा विकासका गतिविधिमा समेत रोक लगाएका छन् ।

भीमदत्त नगरपालिकाको गड्डाचौकी, जिमुवा, ब्रह्मदेव लगायतका क्षेत्रका साथै दक्षिणी क्षेत्रका विभिन्न सीमामा विकासको प्रमुख आधार सडक निर्माणमा नै भारतीय पक्षले अवरोध सृजना गरेको छ । जसले कारणले नेपाली पक्षले सडकमा ग्राभेृल तथा कालोपत्रे गर्न नै सकेका छैनन ।

भारतले जबरजस्ती नेपाली भू–भाग कब्जा गर्ने मनसायले पटक–पटक दुःख दिने गरेको स्थानीयहरुले गुनासो गरे । ‘कहिले सडक निर्माण गर्दा त कहिले घर निर्माण गर्दा जहिले दुःख दिने काम भइरहेको छ ।’ जिमुवाकी स्थानीय निर्मला नेगीले भनिन्, ‘नेपाली पक्षको कमजोरीका कारणले सीमामा बस्ने नागरिकले दुःख पाइरहेका छन् ।’

भीमदत्त नगरपालिका, महाकाली नगरपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाको भारतसंग सीमा जोडिएको भूभागमा त्यहाँ वडा कार्यालयले विकास निर्माणका गतिविधि गर्दा अवरोध हुने गरेको छ ।

बर्षौ बित्दा पनि ग्राभेल गर्न दिएन

भीमदत्त नगरपालिका–१० जिमुवा प्रहरी चौकी नजिकै सीमा स्तम्भ ८०६ (६ए) मा भारतीय पक्षले सडकमा ग्राभेल गर्न अवरोध गरेको छ ।

भारतीय पक्षको अवरोधले गर्दा बर्षौ बित्दा पनि गड्डाचौकीबाट जिमुवा हुँदै जाने सडकको भारतीय सीमासंग जोडिएको केही भागमा ग्राभेल तथा कालोपत्रे गर्न सकिएको छैन ।

गड्डाचौकीबाट जिमुवा हुँदै जाने उक्त सडकको भारतसंग सीमा नजोडिएको बाँकी क्षेत्रमा कालोपत्रे भइसकेको छ । तर भारतसंग सीमा जोडिएको जिमुवा प्रहरी चौकी नजिक सीमा स्तम्भ ८०६ (६ए) को झण्डै दुई सय मिटर सडकमा भने ग्राभेल पनि गर्न अवरोध गरिएको छ ।

‘सीमा नजोडिएको चौकीको तल र माथी ग्राभेलको साटो कालोपत्रे नै भैसकेको छ । तर यहाँ मात्र दुई सय मिटर सडकमा हालसम्म पनि ग्राभेल समेत गर्न दिएको छैन ।’ जिमुवा प्रहरी चौकीका प्रमुख जयराज जोशीले भने ।  सीमाको जिरो प्वाइन्टमा काम गर्न नपाइने भन्दै नेपाली पक्षलाई सडक कालोपत्रे गर्न अवरोध गरेको हो ।

यस्तै निर्माणधीन हुलाकी सडक निर्माण भएको भूमि आफूहरुको भएको भन्दै भारतीय पक्षले दाबी गरेपछि कञ्चनपुरको पचुई हुलाकी सडक खण्डमा कालोपत्रे गर्ने कार्य अघि बढ्न सकेको छैन ।

भारती सीमा सुरक्षा बल (एसएसबि)ले बखेडा झिकेपछि बेलौरी नगरपालिकको पचुई हुलाकी सडक खण्डमा कालोपर्ने गर्ने कार्य अघि बढ्न नसकेको हुलाकी सडक आयोजना धनगढी कार्यालयका सूचना अधिकारी पदमबहादुर मडैले जानकारी दिए ।

यसै गरी हुलाकी सडकको अन्तिम बिन्दु कञ्चनपुरको दैजी बजार नजिकको बल्मी खोलामा सडक डिभिजन कार्यालयले पुल निर्माणका लागि पहिले नै पिलर खडा गरेकोमा थप निर्माण कार्य अघि बढ्न सकेको छैन । पुलको थप कार्य अघि नबढ्दा समयमै हुलाकी सडक निर्माण पुरा गर्नमा समस्या देखिने बताइएको छ ।

कञ्चनपुरको पूर्वी सीमा डोकेबजार देखि पूर्वपश्चिम राजमार्गमा पर्ने दैजी बजार सम्म निर्माण भैरहेको सडक ६२ किलोमिटर लामो छ । तीन प्याकेजमा बाँडेर निर्माण भैरहेको कञ्चनपुर हुलाकी सडकको निर्माण कार्य आगामी चैत महिनामा सक्ने लक्ष्य लिइएको छ ।

यता गड्डाचौकीमा समेत भारतीय पक्षले सडकमा ग्राभेल गर्दा अवरोध सृजना गरेको थियो । त्यसको चार महिनापछि मात्रै सडकमा ग्राभेल गर्न सफल भएको भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रेमप्रकाश जैसीले बताए । तर कालोपत्रे गर्न भने दिएको छैन ।

दशगजामा भारतले कालोपत्रे गर्ने , नेपाललाई नदिने ?

भारतले विभिन्न बहाना झिकेर सीमा रेखाहरुमा सडक निर्माण तथा ग्राभेल, कालोपत्रे गर्नमा नेपाली पक्षलाई अवरोध गर्दा आफुले भने सीमासम्म अर्थात दशगजा क्षेत्रसम्ममा नै सडक कालोपत्रे गरेको छ ।

पश्चिमी सीमा नाका समाप्त हुँदा अर्थात सीमा स्तम्भ नम्बर ८०५÷१ (७) सम्म नै सडक ग्राभेल मात्रै होइन, कालोपत्रे समेत गरेको छ । तर नेपाली जमीनमा सीमा रेखा जिरो प्वाइन्टमा नै कालोपत्रे र ग्राभेल गर्न नपाउने भन्दै काम गर्न नै दिएको छैन ।

जिमुवा, गड्डाचौकी तथा दक्षिणी र पुर्वी सीमा रेखामा कालोपत्रे गर्न दिएको छैन । वडा कार्यालयले सीमाको सडकमा कालोपत्रे गर्ने योजना बनाएपनि भारतीय पक्षले गर्न नदिने भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रेमप्रकाश जैसीले बताए ।

भारतीय अधिकारीसंग बुझ्दा भारत सरकारको नियम अनुसार जिरो प्वाइन्टमा काम गर्न नपाइने जवाफ दिने गरेका उनले बताए । ‘आफुले सीमासम्म नै सडक ग्राभेल मात्र होइन, कालोपत्रे नै गर्न पाउने तर नेपालले गर्दा चाहीँ नियमभित्र नपर्ने यो कस्तो ज्यादती हो ।’

स्थानीय कमल चन्दले भने । नापीका अधिकारीले सीमा नापी हेरफेर गरेपश्चात् मात्र सीमामा काम गर्न मिल्ने भारतीय पक्षले बताउने गरेका छन् ।

नेपाली भूमीमा भारतीय ‘स्ट्याण्ड’

नेपाली भूभागलाई भारतीयहरुले आफ्नो सवारी साधन राख्ने स्थानका रुपमा प्रयोग गरेका छन् । भारतीय पक्षले आफ्ना सवारी साधन रोक्नका लागि सवारी साधन स्ट्याण्ड नै नेपाली भूमीका स्थापना गरेका छन् ।

तर नेपाली पक्षले भारतको पछिल्लो गतिविधिको कुनै प्रतिक्रिया देखाएको छैन । ‘नेपाली भूभागमा नै भारतीय गार्डी पार्किङ्ग स्थल बनाएर त्यहाँ गाडीहरु राखिएको छ त। नेपाली पक्षले भने यसबारे केही बोल्न सकेको छैन ।’ स्थानीय गणेश नेपालीले भने ।

नेपाली भूमी समाप्त रेखा अर्थात सीमा स्तम्भ ८०५÷१ (७) को नेपाली भूमीतर्फ भारतीय गाडी रोक्नका लागि प्रयोग भएको छ । त्यहाँ भारतीय नम्बरका गाडी पार्किङ्ग गरेको देखिन्छ ।